भोटेकोसीमा आएको बाढीले मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुन: जोड्न धादिङका १३ वटै स्थानीय तह एकजुट भएका छन्। फुर्केखोलामा बर्दियाको राजापुरस्थित पन्टुन पुल ल्याएर अस्थायी रूपमा सञ्चालन गर्ने र त्यसको खर्च सबै स्थानीय तहले साझा रूपमा व्यवस्थापन गर्ने सहमति भएको छ।
धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठकले पन्टुन पुल ल्याउने, जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकले पुलका लागि आवश्यक खर्च अन्तरपालिका कार्यविधिमार्फत व्यवस्थापन गर्ने, सिँचाइ विभागसँग अनुमति लिने तथा राजापुरबाट पुल ल्याउन ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैलाई समन्वयको जिम्मेवारी दिने निर्णय गरेको छ।
पन्टुन पुल सञ्चालनमा आएपछि मलेखु हुँदै पृथ्वी राजमार्गसम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ। बैठकले अस्थायी पुलसँगै दीर्घकालीन समाधानका लागि फुर्केखोलामा स्थायी पक्की पुल निर्माण गर्न सङ्घीय तथा प्रदेश सरकारसँग पहल गर्ने निर्णयसमेत गरेको छ।











