आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई ७ रनले हराएकाे छ। याेसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहकाे विश्व कप खेलेकाे थियाे ।
नेपालले दिएकाे १ सय ९२ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयाे । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले 'ह्याट्रिक' सहित ५ विकेट लिए ।
यसअघि आजमानमा रहेकाे इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयाे । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए ।
नेपालले पहिलाे खेलमा सिङ्गापुरलाई ९६, दाेस्राे खेलमा कुवेतलाई २ सय ४३, तेस्राे खेलमा हङकङलाई ९ विकेट र चाैथाे खेलमा मलेसियालाई १० विकेटले हराएको थियो । १९ वर्षमुनिकाे विश्व कप सन् २०२४ मा श्रीलङ्का हुँदैछ ।
यस्तै आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा सिनियर टोली नेपाल भने यूएईसँग ६८ रनले पराजित भएकाे छ ।
यूएईले दिएकाे २ सय ८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ३१ ओभर ५ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कुशल मल्लले ६० रन र सन्दीप लामिछानेले नटआउट २६ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ यूएईका राेहन मुस्तफा र कार्तिक मय्यपनले ३/३ विकेट लिए ।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफाले ५२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । यस्तै करण केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिए ।
यूएईसँग हारेसँगै अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै साेझै विश्व कप खेल्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटाैँ स्थानमा छ ।
याे हारसँगै नेपालले लगातार पाँच खेल जितेर बनाएकाे कीर्तिमानमा पनि 'ब्रेक' लागेकाे छ । यसअघि घरेलु मैदानमा भएकाे ४ वटै खेल जितेर यूएई भ्रमण गरेकाे नेपालले त्रिदेशीय शृङ्खलाकाे पहिलाे खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएकाे थियाे ।













