
दक्षिणि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा ६ बुङ्पुङका २९ वर्षिय दिपबहादुर चेपाङको उपचारमा आर्थिक अभाव भएको छ । १ महिना अघि ढाँडमा आएको सानो घाउ ठुलो हुँदै गएपछि चेपाङ जीवन र मरणको दोसाधमा छन् । घाउ कुहिएको अवस्थामा छ ।
सामान्य जिविको पार्जन गर्दै आएका चेपाङको अहिले शिक्षण अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ । न्यून आय भएका चेपाङको उपचारमा आर्थिक अभाव भएपछि समस्या उत्पन्न भएको परिवारले जनाएको छ । ढाँडमा आएको सानो घाउको उपचारमा ध्यान नपु¥याउँदा अहिले त्यो सानो घाउ बढेर ठुलो भएपछि समस्या आएको हो ।

शनिबार शान्ती नेपाल, स्वास्थ्यकर्मी रवि गिरि, अर्चिता उप्रेतीको पहलमा २१ हजार रकम संकलन गरेर उपचारको लागि काठमाण्डौं पठाईएको बेनिघाट रोराङ ग्रामिण खानेपानी ब्यबस्थापन बोर्डकी कार्यकारी निर्देशक अर्चिता उप्रेतीले बताउनुभयो । अर्चिता उप्रेती लगायतका समूहले सामाजिक सञ्जालमा राखेको बिरामीको फोटोलाई धादिङ अपडेट डटकमले पनि प्रकाशन गरेको थियो । धादिङ अपडेट डटकमले फोटो सार्वजनिक गरेपछि स्वदेश तथा विदेशबाट बिरामीको अवस्थाका बारेमा र स्थानिय सरकारको विषयमा चासो राखेका छन् ।
अस्पताल प्रशासनले उपचारमा दैनिक ३ देखि ५ हजार सम्म खर्च आउने बताएपछि यतिबेला सामाजिक सञ्जालबाट सहयोगी मनहरुले सहयोग रकम पठाउन सुरु गरेको उप्रेतीले बताउनुभयो ।
खानेकुरा समयमा नभएका कारण बिरामीको अवस्था निकै कमजोर रहेकोले पोषण अवस्था सुधार गरि शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने अस्पतालले जनाएको चिकित्सकले बताएको परिवारलाई उद्धृत गर्दै उप्रेतीले बताउनुभयो।
अरुलाई दोषारोपण गर्नुभन्दा पनि अहिले गरिब दिपबहादुर चेपाङको जीवन बचाउनु पहिलो प्राथमिकता रहेकोले सबैले सहयोग गर्न उप्रेतीले अनुराध गर्नुभयो ।
गत मँसिरमा पनि चेपाङको मेरुदण्डको शल्यक्रिया गरिएको थियो । गोरखाको एक बाख्रा फर्ममा काम गर्ने सिलसिलामा रुखबाट लडेर मेरुदण्ड भाचिएका चेपाङको त्योबेला बेनिघाट रोराङ गाउँपालिकाले औषधी उपचारमा सहयोग गरेको थियो । गरिब चेपाङको लागि निशुल्क हुने भनेर विर अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसक्नु भनेको नेपालको अझै पनि स्वास्थ्य प्रणाली मजबुत हुन नसक्नु हो उप्रेतीले भन्नुभयो ।
बिरामी चेपाङलाई विर अस्पतालमा उपचार सम्भव नभएपछि टिचिङ अस्पताल लगिएको थियो । बिरामी दिप बहादुर चेपाङको ७ जनाको परिवार रहेका छन् ।
सहयोगको लागि बिरामिकी श्रीमती बिमला चेपाङ ९८०३१२२४३७ र बिरामी कुरुवा श्रीलाल तामाङ ९८४२७५९१७४ मार्फत सहयोग गर्न सक्नुहुनेछ ।
तस्विर : अर्चिता उप्रेती