चैत्र ६, २०७९
धादिङ – आईतबार धादिङमा रहेका ९ वटा क्याम्पसहरु मध्ये ६ वटामा स्वतन्त्र विद्याथी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । स्ववियु निर्वाचन भएको ५ वटा क्याप्समा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) विजयी भएको छ भने १ वटामा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ । माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बेनीघाट रोराङ गाउँपालिकामा रहेको चन्द्रोदय बहुमुखी क्याम्पस बिशालटार, मलेखुमा रहेको जय बागेश्वरी क्याम्पस, गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पस र धुनीबेसी नगरपालिकाको खानिखोलामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा जित हासिल गरेको छ । साथै त्रिपुरासुन्दरी गाउँपालिकाको खहरेमा रहेको नेत्रावती सामुदायीक क्याम्पस भने सबै संगठनहरुले भागबन्डा गरि सभापतिमा क्रान्तिकारीलाई नै समर्थन गरेको छ ।
यस निर्वाचनमा केहि क्याम्पसहरुमा तालमेल पनि गरेको थियो । चन्द्रोदय क्याम्पस बिशालटार र जय बागेश्वरी क्याम्पस मलेखुमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच तालमेल भएको थियो । त्यसै गरी धुनीबेसी नगरपालिका स्थित खानीखोलामा रहेको मछिन्द्र क्याम्पसमा भने अनेरास्ववियु र क्रान्तिकारीबीच तालमेल भएको थियो । जिल्लामा जम्मा १ स्थानमा विजयी हासिल गरेको अनेरास्ववियुले गल्छी गाउँपालिकाको गल्छीमा रहेको नमुना बागेश्वरीमा विजयी हुन नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूसँग तालमेल गरेको थियो ।
यता नेपाली कांग्रेस निकटको नेविसंघले भने खाता खोल्न सकेको छैन । धादिङ जिल्लामा अब एउटा मात्र क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसमा भने यहि चैत्र ८ गतेको लागि निर्वानको कार्यतालिका सार्वजनिक भएको छ । यस क्याम्पसमा भने अन्य विद्यार्थी संगठनहरु भन्दा नेविसंघ बलियो देखिएको छ ।












