चैत्र ६, २०७९
धादिङ – संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिँदै छ । यस अघिको प्रमुख सत्ता साझेदार दल नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेको हो ।

आज लिने विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने छन् । जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ । यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिएर विपक्षमा रहने छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वासको मत लिएका थिए ।