
माघ १६, काठमाण्डौं ।
नेकपा एमालेले सकेसम्म सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकपछि उपाध्यक्ष बामदेव गौतमले सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता बन्ने निश्चित भएको छ भने अन्य प्रदेशमा टुंगो लागेको छैन । प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन् । वाम गठबन्धनमा दुई प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।
प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ भने ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रमुख दाबेदार हुनुहुन्छ । प्रदेश ४ को मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले दाबी गर्दै आएका छन् । एमाले बैठकले राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुलाई तत्कालै मतदानको बिधिबारे तालिम दिने निर्णय समेत गरेको छ ।