बैशाख ११
काठमाण्डौ – आईतबार काठमाण्डौमा ‘द पोयट आइडल’ प्रथम संस्करणका विजेता कवि निलम गुरुङलाई, गुरुङ समुदायको तर्फबाट बधाई तथा सम्मान गरिएको छ । तमू (गुरुङ) हरुको साझा एवं मातृ संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा एक कार्यक्रमको बीच सम्मान पत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा कवि निलम गुरुङका पिता दिलिप गुरुङ र आमा बसुन्धरा गुरुङका साथै सिक्किम सरकारका प्रतिनिधि गोपाल शिवाकोटीलाई फेटा र क्रमुले सम्मान गरिएको थियो । ‘द पोयट आइडल’ प्रथम संस्करणका विजेता कवि निलम गुरुङ हाल सिक्किममा बसोबास गर्ने नेपाली भाषी र नेपाली मूलका हुन ।

उक्त सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा तमू (गुरुङ) संघ / संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै शुभचिन्तक र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । बधाई तथा सम्मान कार्यक्रममा उपस्थित सबैले स्रष्ठा कवि निलमलाइ हार्दिक बधाई सहित थप प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको संरक्षक परिषदका अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यमा र केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष आर. बि. गुरुङको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय कार्यालय, काठमाडौंमा भएको थियो ।

Facebook Comments