२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालको ऐतिहासिक जित, एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा

नेपालको ऐतिहासिक जित, एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा भेट्टायो । नेपाल सात विकेटले विजयी भयाे ।

आजको खेलमा नेपालका गुलसन झाले अविजित सर्वाधिक ६७ रन बनाए । उनले ७५ बलमा अर्धशतक पूरा गरे । त्यस्तै भीम सार्कीले ३६ रन जोडे । रोहन मुस्ताफाले २ तथा आयान खानले १ विकेट लिए । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अल आउट भएको थियो ।

हिजो वर्षाका कारण २७ ओभर ३ बलमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा आज ११ रन जोड्दै यूएई १ सय १७ रनमा अल आउट भयो । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए । यूएईका कप्तान मोहम्मद वासिम ११ रनमा क्याच आउट भएका थिए । यस प्रतियोगितामा दुई शतकसहित सर्वाधिक रन बनाउने युवा खेलाडी वृत्य अरविन्द ८ रनमै क्याच आउट भएका थिए ।

नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान २ तथा सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिए । एसिया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । कुनै कारणले प्रतियोगिता प्रभावित नभएमा आयोजक पाकिस्तानसहित भारत, श्रीलंका, बङ्लादेश, अफगानिस्तान र एसीसी प्रिमियर कपको उपाधि विजेता नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।