२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ग्लोबल टी–२० लिगमा सन्दीप र दीपेन्द्रको ‘उत्कृष्ट’ प्रदर्शन

ग्लोबल टी–२० लिगमा सन्दीप र दीपेन्द्रको ‘उत्कृष्ट’ प्रदर्शन
क्यानडामा जारी ग्लोबल टी–२० लिगमा नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका छन्। जारी लिगमा सन्दीप सरे जगुआर्स र दीपेन्द्र मोन्ट्रियलमा आवद्ध छन्। गएराति सम्पन्न खेलमा सन्दीपसम्मिलित जगुआर्सले टोरन्टो नेशनललाई २० रनले हरायो । जगुआर्सलाई पहिलो जित दिलाउन लेगस्पिनर लामिछानेको अहम् भूमिका रह्यो।
उनले ४ ओभरमा २२ रन मात्र दिएर महत्वपूर्ण २ विकेट लिए। सन्दीपले कोलिन मुनरोलाई ४३ र अर्मन कपूरलाई १६ रनमा पवेलियनको बाटो देखाए। उनले पहिलो खेलमा ४ ओभरमा १७ रन दिएर २ विकेट नै लिएका थिए। दोस्रो खेलमा भने सन्दीपले वर्षा बाधक बन्दा २ बल मात्र फाल्न पाए।
यस्तै, आज बिहान सम्पन्न खेलमा मोन्ट्रियलले भ्यानकुभर नाइट्सलाई ६ विकेटले हरायो। मोन्ट्रियलको तेस्रो जितमा दीपेन्द्र सिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे। उनले बलिङमा ३ ओभरमा १६ रन दिएर महत्वपूर्ण १ विकेट लिए। ऐरीले पाकिस्तानी स्टार फखर जमानलाई ७३ रनमा आउट गरे। यस्तै, उनले ब्याटिङमा २२ बलमा २ चौकासहित अविजित २२ रनको योगदान दिए।
पहिलो खेलमा ऐरीले २२ बलमा २ चौकाको मद्दतमा २८ रनको महत्वपूर्ण पारी खेलेका थिए। लगातार तेस्रो जित हात पारेको उनीआवद्ध मोन्ट्रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सन्दीपसम्मिलित जगुआर्स ३ अंकका साथ तेस्रो स्थानमा छ ।
यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।