अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

करार सेवामा कार्यरत अधिकृत कार्कीले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ रुपैयाँ बिगो र जरिबानासहित आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०५८ साल साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका कार्कीको २०७९ साल चैत ३० गतेसम्मको पारिश्रमिक आय, जग्गा बिक्री, घर तथा जग्गा बहाल आय, बैंकबाट लिएको ऋण गरी वैध आय तीन करोड ७७ लाख १३ हजार छ सय ४६ रुपैयाँ रहेको देखिएको छ । तर उनको विभिन्न ठाउँमा भएको लगानी, सम्पत्ति र बचत हेर्दा छ करोड ९८ लाख ४६ हजार छ सय तीन रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

कुल आयबाट वैध आय घटाउँदा बाँकी रहेको तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ रुपैयाँको स्रोत नखुलेकाले शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारले जनाएको उज्यालो अनलाइनले समाचार लेखेको छ।

Facebook Comments