अर्जुन श्रेष्ठ
असोज १७ ,धादिङ
निर्माण कार्य पुरा हुन नसक्दा धादिङको नेपाल टेलिकम भवन अलपत्र बन्न पुगेको छ । भुकम्प र पैसा निकासा जस्ता कारण देखाई निर्माण कार्य रोकिएका कारण भवन अलपत्र परेको हो ।
निर्माणाधिन नेपाल टेलिकम भवन चाँदनी÷राम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रिय निर्देशनालयसँग सम्झौता गरेको थियो । २०७१ साल बैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म भवनले पूर्णता पाएको छैन । २ करोड २ लाख ४८ हजार ७ सय ८९ रुपियाँ ७८ पैसामा सम्झौता गरिएको भवन हालसम्म ३ ढलान बाहेक अरु केहि काम भएको छैन । लामो समयदेखि निर्माण कार्य थालनी गरेको भवन, बनेको संरचना दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । निर्माण सामाग्री यत्रतत्र छरिएका छन् । करिव १ सय बोराको सिमेन्ट चाङ लगाएर राखिएको छ । जुन एउटै बोराको सिमेन्ट काम लाग्दैन, जमेर एउटै डल्लो परेको छ । रड तथा चुरी तारहरुको अवस्था पनि उस्तै छ । तर निर्माण कार्य रोकिएको लामो समय भैसक्दा पनि भवन निर्माण कार्य सुचारु हुन नसक्दा समस्या भएको हो ।
समय अवधि सकिएपछि ठेकेदार समय सिमा थप्न पटक पटक आएको क्षेत्रिय निर्देशनालय त्रिपुरेश्वरले जनाएको छ । विभिन्न कागजात तथा पुरा गर्नुपर्ने प्रक्रियामा रहेको र ठेकेदारले छिट्टै निर्माण कार्य शुरुवात गर्ने जानकारी दिएको उनीहरु बताउँछन् ।

मासिक ८० हजार घरभाडा,भुक्तानी
नेपाल टेलिकमको निर्माणाधिन भवनले पूर्णता पाउन नसक्दा २०७० सालदेखि भाडाको घरमा सञ्चालन हुदै आएको नेपाल टेलिकम जिल्ला शाखा धादिङका प्रमुख खगेन्द्र कटुवालले बताउनुभयो । घर बन्ला बन्ला भन्दै कुरेको वर्षाै भयो । तर बन्ने छाँटकाट देखिएन । घर भाडा मात्रै हामी ८० हजार तिर्छाै कटुवालले बताउनुभयो । कटुवाल थप्नुहुन्छ– घर साहुले आफुलाई घर चाहियो छाड्दिनु भनेर पटक पटक भन्नुभएको छ । कार्यालयको भवन बन्न सकेको छैन । ढलान मात्रै भएको छ । बन्ने कहिले सर्ने कहिले एकादेशको कथा हुने भो, हामी त समस्याको चपेटामा छौ उहाँले गुनासो पोख्नुभयो ।
त्यस्तै, भवन अभावका कारण सेवाग्राहिलाई सेवा तथा सुविधा विस्तार गर्न समस्या भएको कटुवालले बताउनुभयो । जमाना प्रविधिको छ, भवन अभावका कारण धादिङमा  Fiber to the home (FTTH)  जस्ता प्रविधि भित्र्याउन नसकिएको उहाँको भनाई छ । सेवा विस्तारमा पनि उस्तै समस्या छ । कार्यालयमा आवश्यक सामाग्री राख्ने ठाउँ नहुदा समस्या भोग्नुपरेको उनले बताउनुभयो । भवनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भए काम गर्न सजिलो र कार्यालयबाट दिने सेवा तथा सुविधामा थप गुणस्तर हुने तथा सेवा विस्तार गर्न सकिने विश्वास रहेको उहाँको भनाई छ ।

Facebook Comments