१ भाद्र
इजरायल – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले ३० औं विश्व आदिवासी जनजाति दिवस भव्य रुपमा मनाएको छ । शुक्रबार इजरायलको मुख्य शहर तेलअविभ स्थित लेभेन्स्कि पार्कमा नेफिन इजरायलका अध्यक्ष मनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदुतावास इजरायलका द्धितीय सचिव कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेफिन इजरायलका पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य सुन्दर योन्जन तामाङ, पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य नयन इम्सोङ लिम्बु, पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्य नानी माया योन्जन तामाङ, निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहाकार कुमार आङ्देम्बे लिम्बुको विशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा विभिन्न राजनैतिक, सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, नेफिन इजरायलका सदस्य संस्थाका प्रमुख तथा प्रतिनीधिहरुका साथै नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विशेष गरी संयुक्त राष्ट्र संघले आदिवासी जनजातिहरुको समग्र अवस्था अध्यायन गरी उनीहरुको अवस्था सुधारको लागि विशेष कार्यक्रम सिफारिस गर्ने उदेश्यले इक्वेडरका विशेषज्ञ मार्टिन कोबेजको संयोजकत्वमा सन् १८९२ मा एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको पहिलो बैठक जेनेभामा सन् १९८२ अगष्ट ९ मा सम्पन्न भएको थियो । उक्त ९ अगष्टको दिनलाइ नै विशेष स्मरणीय दिन मानेर संयुक्त राष्ट्र संघले विश्व आदिवासी जनजाति दिवस घोषणा गरेको हो ।
यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरुले, जनजाति आधिकारका लागि एक महान अन्र्तराष्ट्रिय पर्वको रुपमा मनाउँदै आइरहेका छन् । यो दिवस मनाउनुको मुख्य उदेश्य विश्व भूमण्डलीकरण, आधुनिकिकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरुका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा पारेको प्रतिकूल असरबाट बचाउनु, उनीहरुको विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्नु हो ।

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार विश्वभरि आदिवासी जनजातिको जनसंख्या ५० करोड भन्दा बढि रहेको छ । जुन विश्वको जनसंख्याको ६.२ प्रतिशत हो । विश्वका ९० देशमा बसोवास गर्ने ५००० भन्दा बढी समुदायहरु रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार करिब तीन करोडको हाराहारीमा नेपालको जनसंख्या रहेको छ । जस मध्ये आदिवासी जनजातिको संख्या ९३ लाख रहेको छ । जुन नेपालको जनसंख्याको ३५.४० प्रतिशत हिस्सा हो । नेपालमा रहेका १४२ जातजातिहरु मध्ये ५९ जातजातिलाइ नेपाल सरकारले आदिवासी जनजातिको रुपमा स्वीकृत गरेको छ ।

“संविद्यान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर !” भन्ने मूल नारा सहित नेपाल आदिवासी जनाजाति महासंघ इजरायलको आयोजना तथा सदस्य संस्थाहरुको सह–आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा महासंघमा आवद्ध सदस्य संस्था र समुदायको मौलिक कला, संस्कृति झल्कने झाँकि,नृत्य सहितको ¥यालि, शुभकामना आदान–प्रदानको साथमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहेको थियो । यसै गरि कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक खानाका परिकारहरु पनि खुवाएको थियो ।
हरेक वर्ष ९ अगष्टका दिन विश्व भर रहेका आदिवासी जनजातिहरुले विश्व आदिवासी जनजाति दिवस मनाउने गर्दछन् । यद्यपी नेफिन इजरायलले भने १६ अगष्टका दिन विश्व आदिवासी जनजाति दिवस मनाएको हो । नेफिन इजरायलले हरेक वर्ष यो दिवस मनाउने गर्दछ ।











