
असोज १८, धादिङ
नेकपा निकट विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले जनताको जिउधनको सुरक्षामा दृढ नभएको, प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्नु पर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार मन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललाई बर्खास्त गर्न माग गरेका हुन् ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्ने अन्य प्रहरीमाथी पनि अनुसन्धान केन्द्रीत हुनु पर्ने माग गरिएको अखिलका नेता आरसी लामिछानेले जानकारी दिनुभयो । साथै निर्मला हत्याकाण्डको छानविन समितिले निकालेको निष्कर्ष सार्वजनिक गर्नुपर्र्ने, हत्या, बलात्कार ,एसिड प्रहार, उपभोग्य वस्तुमा गरिएको मुल्य बृद्धि, कालाबजारी, सार्वजनिक यातायातमा गरिएको भाडा बृद्धि, लगाएतका जनजिविकाको विपक्षमा गरिएका निर्णयहरु तत्काल फिर्ता लिन समेत विद्यार्थीहरुले माग गरेका छन् । 