स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्यांकन प्रणाली (लिजा)मा देशभरका नगरपालिकामध्ये नीलकण्ठ नगरपालिका उत्कृष्ट बनेको हो । विभिन्न एक सय वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमा आ.व २०७९/०८० मा नगरपालिका उत्कृष्ट बनेको होे ।

नगरपालिकाले सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता, प्रवाह भइ रहेका सेवा, सूचनाको हक लगायत विभिन्न सुचकमा नगरपालिकाले ९२.५० अंक प्राप्त गरेको छ । जनप्रतिनिधि, कर्मचारीको काम र नगरबासीको सुझाव तथा उत्प्रेरणाले नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनुभएको छ ।

यो सम्मानले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई थप हौसलासँगै आगामी दिनमा उत्कृष्ट नतिजा टिकाइराख्न चुनौति थपिएको बताउनुभएको छ । देशैभरको उत्कृष्ट नगरपालिकाको रुपमा नीलकण्ठ नगरपालिका छनौट हुँदा धादिङकै बेनिघाट रोराङ गाउँपालिका गाउँपालिका तर्फ देशकै उत्कृष्ट बनेको छ ।

विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले प्रतिक्रिया दिनुभएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयन, श्रोत साधनको उच्चतम सदुपयोग, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायतको क्षेत्रमा भएका कामले गाउँपालिका उत्कृष्ट बनेको बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरेले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीको राम्रो टिम र जनताको साथले गाउँपालिकालाई यो सम्मान मिलेको उहाँको भनाई छ ।

Facebook Comments