
माघ २४
इजरायल – प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा “दोस्रो संस्करण क्या.लखन थापा मगर स्मृति कप – २०२५, भलिबल तथा मामानेट” प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । “प्रथम शहिदलाइ सम्मान ! खेलाडीहरुलाइ प्रोत्साहन !!!” भन्ने नाराका साथ पुरुष भलिबल तथा महिला मामानेट प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा भलिबल तर्फ नेपाल मगर संघ शाखा इजरायल, प्रवासी नेपाली मंच इजरायल, एन आर एनए एनसिसि इजरायल, किराँत याक्थुङ चुम्लुङ इजरायल, इजरायली कृषि भलिबल क्लब, लायन्स तेल–अविव इजरायल, सुदुर पश्चिमेली नेपाल समाज इजरायल, नेपाल आदिवासी जनजाती महासंघ इजरायल सहित कुल ८ वटा टीमको सहभागिता रहनेछ । मामानेट तर्फ नेपाल आदिवासी जनजाति महासंघ इजरायल र नेपाल तामाङ घेदुङ इजरायल गरि २ वटा टिम रहेको प्रतियोगिताका संयोजक बिवस आले मगरले जानकारी दिनुभयो ।

भलिबल तर्फ प्रतियोगितामा सहभागि भई प्रथम विजेता हुने टिमलाइ नगद ४ हजार ५ सय सेक्केल र उपविजेता हुने टिमलाइ २ हजार २ सय सेक्केल सहित ट्रफी, मेडल, प्रमाण पत्र सहित सम्मान गरिने छ । साथै मामानेटमा विजेता हुने टिमलाइ नगद १ हजार सेक्केल सहित ट्रफी, मेडल, प्रमाण पत्रद्धारा सम्मान सहित पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडीहरुलाइ नगद २ सय सेक्केल सहित ट्रफी र प्रमाण पत्रद्धारा पुरस्कृत गरिनेछ । यस प्रतियोगितामा इजरायलमा रहि विभिन्न पेशा, व्यवसाय गर्दै आएका नेपाली तथा नेपाली भाषी खेलाडिहरुको सहभागिता रहनेछन् । पहिलो संस्करणमा नेपाल मगर संघ शाखा इजरायल विजेता र लायन तेल अभिव उप विजेता बनेको थियो । प्रतियोगिता नकआउट चरणमा हुनेछ ।


प्रतियोगिता १५ फेब्रुअरी का दिन बिहान ८ बजे लेभेनस्की फुटसल पार्क तेलअविभमा हुनेछ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको आयोजना र नेफिन इजरायलमा आवद्ध रहेका विभिन्न राष्ट्रिय समुदाय संघ–संस्थाहरुको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज लगाएतका संघ–संस्थाहरु आवद्ध रहेका छन् । सन २०१२ मा स्थापना भएको नेफिन इजरायलले समय–समयमा यस्ता विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।