१५ चैत्र
इजरायल – आगामी १८ अप्रिलका दिन इजरायलमा नयाँ वर्ष कप – २०८२ फुटबल प्रतियोगिता हुने भएको छ । इजरायलमा स्थापित पुरानो फुटबल क्लब राइजिङ स्टार फुटबल क्लबको आयोजना र व्यवस्थापनमा हुन लागेको यो पहिलो प्रतियोगिता हो । प्रतियोगितामा इजरायलमा स्थापित विभिन्न ८ वटा फुटबल क्लबहरुको सहभागिता रहने राइजिङ स्टार फुटबल क्लबका टिम क्याप्टेन अरुण लामाले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागि फुुटबल क्लबहरुमा आयोजक राइजिङ स्टार फुटबल क्लब, किराँत क्याक्थुङ चुम्लुङ फुटबल क्लब, सेभेन स्टार हाईफा फुटबल क्लब, लायन तेलअविभ फुटबल क्लब, दार्जलिङ युनाइटेड फुटबल क्लब, मनिपुर फुटबल क्लब, कायपलट फुटबल क्लब र झापा फुटबल क्लब रहेका छन् ।

फुटबल खेलप्रेमी र खेलाडीहरुलाइ खेल प्रति कटिवद्ध हुन, सबैसँग आपसी सद्भाव र सम्बन्ध कायम राख्न, खेलाडिहरुको शारिरिक र मानशिक स्वास्थ्यमा ध्यान दिदै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागि भई विजेता हुने टिमलाइ ८ हजार १ सय ५१ सेक्केल र उप विजेता हुने टिमलाइ ४ हजार १ सय ५१ सेक्केल नगद, शिल्ड, मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
९ – ए साईडमा खेलिने यस फुटबल प्रतियोगिता नकआउट सिस्टममा खेलाइने छ । यस प्रतियोगितामा सहभागि फुटबल टिमले टिम दर्ता बापत २ हजार सेक्केल दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । साथै यस प्रतियोगितामा सहभागीताको लागि सम्पूर्ण खेलाडी, खेलप्रेमी शुभचिन्तक, शुभेच्छुकहरुलाइ उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।
प्रतियोगिता इजरायलको आधुनिक शहर तेलअभिव स्थित लुना पार्कमा रहेको खेल मैदानमा आगामी १८ अप्रिलका दिन साँझ सुरु भई १९ अप्रिलका दिन सम्पन्न हुनेछ । सन् २०१९ मा स्थापना भएको आयोजक राइजिङ स्टार फुटबल क्लबले इजरायलमा भएको विभिन्न फुटबल प्रतियोगितामा सहभागि भई पटक – पटक विजेता र उप – विजेताको उपाधि हात पारेको छ ।