
पौष १९
इजरायल – तमू समाज इजरायलले २ जनवरी, शुक्रबारका दिन तमू समुदायको महान तथा राष्ट्रिय पर्व (त ल्हो) तमू ल्होसार – २०८२ भव्य रुपमा मनाएको छ । (सप्रि ल्हो) सर्प वर्गको विदाई तथा (त ल्हो ) घोडा वर्गको स्वागत गर्दै ल्होसार मनाएको हो । हरेक वर्ष पौष १५ गतेबाट तमू गुरुङ समुदायको नयाँ वर्ष अर्थात वर्ग सुरु हुन्छ । ल्हो को अर्थ वर्ग र छार को अर्थ नयाँ भन्ने हो । नयाँ वर्गको स्वागत र पूरानो वर्गको बिदाईको अवसरमा यो पर्वलाइ विशेष र महत्वपूर्ण चाडको रुपमा तमू समुदायले हरेक वर्ष मनाउने गर्दछन् ।


तमू समाज इजरायलले इजरायलको मुख्य शहर तेलअभिवस्थित यादखरुचिम स्टेट नंम्बर – १५ इभा हालमा ल्होसारको अबसरमा शुभकामना आदान–प्रदान, (स्योकैं) वनभोज कार्यक्रम गरको थियो । कार्यक्रममा विशेष गरि तमू समुदायको मौलिक कला र संस्कृति झल्किने घाँटु, सोरठीको साथमा अन्य विविध सांस्कृतिक प्रस्तुतीहरु रहेको थियो । तमू समाज इजरायलकी अध्यक्ष रेखा तमूस्योको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली दुतावास इजरायलका कार्यवाहाक राजदुत एवं नेपाल सरकारका उप सचिव ओम कुमार भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । भने नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष सुर्य बहादुर राना मगरको विशिष्ट आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा इजरायलमा क्रियाशिल राष्ट्रिय सामुदायिक संस्थामा आवद्ध विभिन्न व्यक्तित्वहरुको विशेष आतिथ्यता रहेको थियो ।


तमू समाज इजरायलका प्रथम उपाध्यक्ष एवं ल्होसार आयोजक समितिका संयोजक गायत्री तमूस्यो (गया) को संयोजकत्वमा सम्पन्न तमू ल्होसारको अबसरमा आयोजित शुभकामना आदान–प्रदान, (स्योकैं) तथा वनभोज कार्यक्रम भव्यताको साथ सफल भएको तमू समाज इजरायलले जनएको छ । तमू समाज इजरायलले ल्होसार कार्यक्रममा सहभागी भई कार्यक्रमलाइ भव्य रुपमा सफल बनाउन सहयोग गरिदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि ज्युहरुका साथै सम्पूर्ण नेपाली तथा नेपाली भाषीहरुलाइ धन्यवाद प्रदान गरेको छ । ल्होछारमा सहभागिहरुले इजरायलमा हरेक बर्ष हुने तमू ल्होछार कार्यक्रम अत्यान्तै रमाइलो, मौलिक र पृथक भएको प्रतिकृया दिएका थिए ।

कार्यक्रमको अबसरमा तमू समाज इजरायलले संस्थाको हितको लागि विभिन्न समयमा सामाजिक, आर्थिक हिसाबले सहयोग गर्ने सहयोगी व्यक्तित्वहरुलाइ सम्मान गर्नुका साथै आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाइ पनि सम्मान गरेको थियो ।
“प्ये म्यस्याँ छ्याँ म्हमु, छ्याँ म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराय संस्कार हराउछ, संस्कार हराय संस्कृति हराउछ ,संस्कृति हराय मानव जातिको अस्तित्व नै हराउँछ भन्ने” नारालाइ आत्मसाथ गर्दै प्रवासी भूमी इजरायलमा सन् २००६ मा तमू समाज इजरायलको स्थापना भएको हो ।

तमू समाज इजरायलले स्थापना कालदेखि आफ्नो तमू समुदायको मौलिक भाषा, कला, संस्कार, संस्कृतिको विकास र प्रवद्र्धन गर्दै आफ्नो पहिचान तथा आत्मनिर्णयको अधिकार प्राप्तिको लागि समग्र आदिवासी जनजातिको अभियान र आन्दोलनमा पैरवी र सहयोग गर्दै आएको छ । इजरायलमा रहेका विभिन्न जातिय तथा सामाजिक संघ – संस्थाहरु मध्ये एक सक्रिय संस्थाको रुपमा तमू समाज इजरायल स्थापित रहेको छ ।



