म्याग्दी– मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै म्याग्दीका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् ।

नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचार टोली अन्नपूर्ण गाउँपालिकाको वडास्तरमा चुनावी आमसभा सकेर आज बेनी फर्किएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारको टोलीले प्रदेश सभा क्षेत्र नं २ मा पर्ने मंगला गाउँपालिका–३ बरंजाबाट शुक्रबारदेखि संयुक्त चुनाव प्रचार अभियान शुरु गरेको छ । राजनीतिक दलले प्रचारसभामा गीत तथा नृत्य प्रस्तुत गर्न कलाकारको टोलीसमेत बनाएका छन् ।

ग्रामीण क्षेत्रका कृषक धान, कोदो भित्र्याउने, गहुँ, जौ छर्ने काममा व्यस्त भएकाले दलहरुले चुनाव प्रचारका लागि तीन चरणको कार्यक्रम बनाएका छन् । वडास्तरमा कार्यकर्ता भेटघाट, चुनावीसभा र घरदैलो गरेर भोट माग्ने कार्यक्रम बनाइएको एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

“एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमतिको सन्देश कार्यकर्ता तहमा पु¥याउँदै मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यकर्तालाई घरदैलोमा परिचालन गरेका छौँ,” उनले भने ।

जिल्लास्तरमा एमाले र माओवादी केन्द्रको सात सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार कार्यदल गठन भएको र स्थानीय तह तथा वडास्तरमा सोही संरचना तयार पारेर संयुक्त प्रचार अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले बताए ।

कार्यकर्तालाई प्रशिक्षण, उम्मेदवारसहित आमसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको पौडेलले बताए । नयाँ संविधानले परिकल्पना गरेअनुसार पहिलो पटक हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि एमाले र माओवादी केन्द्र तथा काँग्रेस र राप्रपाले तालमेल गरेर उम्मेदवार उठाएका छन् ।

Facebook Comments