कार्तिक २७ , धादिङ
आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजापाठ गरी हर्ष उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । आज अस्ताउँदो सूर्यलाई अर्घ दिई सुरू हुने पर्व भोलि बुधबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुनेछ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मिथिलाञ्चल र काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने अन्तिम तयारी गरिएको छ । राजधानीको गुह्ेश्वरी, गौरीघाट, बालाजुको माछापोखरी, सानो गौचरणको गहना पोखरी, कालिमाटी, ललितपुरको कुपण्डोल, नख्खु दोबाटो गरी आठ स्थानमा यो पर्व मनाउने तयारी गरिएको छ ।
राजधानीमा आयोजित छठ पर्व समारोहको दुई स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहनेछ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राजधानीको गुह्ेश्वर र कमलपोखरीमा राष्ट्रपति भण्डारीको सहभागिता हुने बताउनुभयो ।
पौराणिक भनाई अनुसार छठ पर्वमा व्रत बसि पुजा, पाठ र आराधाना गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
तीन दशक अघिसम्म तराईका सीमित क्षेत्रमा मनाइने छठ पर्व अहिले नेपालभर मनाउने गरेको पाइन्छ । यसका साथै धादिङको विभिन्न स्थानमा पनि छठ पर्व मनाउने तयारी गरिएको छ ।

Facebook Comments