मंसिर ३, धादिङ वेनिघाट ।
धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशालटारमा संञ्चालनमा रहेको श्रीमाया ग्याँस कम्पनी तत्काल बन्द गर्न माग गर्दै स्थानियले आज जिल्ला प्रशासन कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएको छ ।
चाउचाउ उद्योग स्थापना गर्ने भनि सम्झौदा गरेकोमा पछि गोप्यरुपमा आफ्ना मातहतका व्यक्तीहरुलाई हस्ताक्षर गर्न लगाई सिमानाका सधियारको मुचुल्का समेत नगरी ग्याँस उद्योग संञ्चालन गरेको स्थानियले बताउँदै आएको छ । बस्तीको नजिकै ग्याँस कम्पनी संञ्चालनले वायूप्रदुषण होहल्ला, कोलाहल ससाना वालवालिकाको साथमा वृद्धवृद्धाहरुमा श्वास प्रश्वास र मस्तिष्कमा प्रतिकुल असर पारेकाले ग्याँस उद्योग बन्द गर्नुपर्ने विज्ञप्तीमा भनिएको छ ।
स्थानिय सरकार, स्थानिय बासिन्दा, समाजसेवी, बुद्धिजिवि, नागरिक समाजका अगुवा समेतको भेलाले पटक पटक ग्याँस उद्योगलाइृ ध्यानार्कषण गराएको थियो । सो ध्यानाकर्षण पछि उद्योगले स्थानियहरुलाई असर नपर्ने गरि लोडअनलोड गर्ने, बेलुकी ५ बजे सम्म मात्र काम गर्ने, त्यस भन्दा पछाडी काम नगर्ने भनि सहमती गरिएको भएपनि स्थानियबासी र उद्योग विच भएका सहमतीलाई बेवास्ता गरिएको विज्ञप्तीमा भनिएको छ ।
ग्याँस उद्योगले सामुदायिक वनको केहि भुभाग समेत डोजर लगाएर खनिदिएकाले भूक्षय समेत भएको र उद्योगको प्रदुषणले गर्दा मानव वस्ती नै सर्नुपर्ने वा ग्याँस उद्योग अन्यत्रै व्यवस्थाप गर्नुपर्ने माग गरेका छन् । श्रीमाया ग्याँस बढि लिकेज हुने र सँधैजसो त्रासैत्रासमा बस्न पर्ने भएकाले तत्काल ग्याँस कम्पनी बन्द गर्नुपर्ने, साथे मानव बस्तीनजिकै रहेको अर्काे श्रीकृष्ण ग्याँस उद्योगको पनि नियमानुसार मापदण्ड पूरा भए नभएको निरिक्षण गर्न १ सय ६ घरधुरीद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत स्थानियहरुले सरकार सँग माग गरेका छन् ।
स्थानियहरुले श्रीमाया ग्याँस बन्द गराउनको लागि हस्ताक्षर अभियान चलाई गाउँपालिकामा पनि बुझाईएको हस्ताक्षर अभियानका संयोजक धुर्व प्रसाद पाण्डेले बताउनुभयो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले ग्याँस उद्योगलाई ३ दिन भित्र मापदण्ड अनुरुप सञ्चालन गरेको प्रमाण पत्र ल्याउन निर्देशन दिने बताउनुभएको छ ।
पत्रकारलाई ग्याँस उद्योग भित्र प्रवेशमा रोक
अन्नपूण पोष्ट दैनिकका धादिङ संवाददाता मनिष दुवाडी र नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाललाई ग्याँस उद्योग भित्र प्रवेशमा रोक लगाएको छ । स्थानियहरुको अनुरोध र सत्यतथ्य बुझ्न गएका दुवै जना पत्रकारहरुलाई ग्याँस उद्योग भित्र प्रवेशमा रोक लगाएको हो । पत्रकारहरुलाई समेत प्रवेशमा रोक लगाएपछि ग्याँस उद्योग विरुद्ध स्थानियहरु झनै आक्रोसित भएका छन् ।
स्थानियहरुले बुझाएको ज्ञापन पत्र:-





