
कात्तिक २०, धादिङ ।
पछिल्लोपटक मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरोबाट प्रभावितका लागि सरकारले विशेष योजना ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना ९रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट०का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । अर्थमन्त्री कार्कीले बैठकका निर्णयबारे जानकारी दिँदै प्रस्तावित आयोजनाले १६ जिल्लाको ३८८ किमी ग्रामीण सडक स्तरोन्नति गरी कृषि उपजको बजार पहुँच सुनिश्चित गर्न सक्ने बताउनुभयो । सरकारले रक्षा सचिवमा विनोद केसीलाई नियुक्त गरेको छ ।