माघ ५ ।
स्विस बैंकमा ५५ नेपालीको शंकास्पद रकम रहेको बारेमा सरकारले छानबिन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्विस बैंकमा पैसा रहेका भनिएका व्यक्तिमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
खोज पत्रकारिता केन्द्रले आईसीआईजेसँगको समन्वयमा गरेको खोजमा ५५ नेपालीले स्विस बैंकमा शंकास्पद रूपमा पैसा राखेको दाबी गरेको थियो ।त्यस सम्बन्धमा सत्यतथ्य पत्ता लगाई छानबिन गर्न शुद्धीकरण विभागलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयको सम्पत्ति शुद्धीकरण तथा सुशासन हेर्ने महाशाखाले हिजो सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्दै स्विस बैंकमा राखिएको पैसा र नेपालीका बारेमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।