
फागुन १८, धादिङ ।
सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसँग सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम, धादिङबेसिमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा सहकारी महासंघको गतिविधि, वर्तमान परिस्थितिमा संघिय, प्रादेशिक र स्थानिय सरकारसँगको समन्वयको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
साथै राष्ट्रिय सहकारी विकास वोर्डका पूर्व निर्देशक कृष्ण प्रसाद दाहालले सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसँग सहकार्यको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कर्यपत्रमा नेपालको संविद्यान २०७२ मा सहकारी सम्बन्धि व्यावस्था, सहकारी ऐन २०७४ को अन्तरिम व्यावस्था र स्थानिय निकायको भूमिका र जिम्मेवारी लगायतका विभिन्न विषयमा आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

धादिङ जिल्लामा हाल विभिन्न विषयगत सहकारी संघ–संस्थाहरुको संख्या ४ सय १५ वटा रहेका छन् । प्रदेश नम्बर ३ मा कुल ११ हजार ५ सय ७७ वटा सहकारी संघ–संस्थाहरु छन् । नेपाल अधिराज्य भरिमा कुल प्रारम्भिक सहकारी संस्थाको संख्या ३४ हजार ५१२ रहेको छ ।
जिल्लास्तरीय संघ ३ सय २८ वटा रहेका छन् । विषयगत केन्द्रिय संघ २० वटा रहेका छन् । साथै १ वटा राष्ट्रिय सहकारी महासंघ रहेको छ भने सहकारी सस्थामा आवद्ध सदस्यहरुको संख्या भने ६३ लाख ५ हजार ५ सय ८१ जना रहेको छ । नेपालको कुल ग्राहस्त उत्पादनमा सहकारी क्षेत्रले करिव ४ प्रतिशत योगदान गरेको पाइन्छ । साथै कुल वित्तिय क्षेत्रमा सहकारीको हिस्सा करिब २० प्रतिशत रहेको छ ।

धादिङ जिल्ला सहकारी संघका अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जग्गनाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने राष्ट्रिय सहकारी महासंघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलको विशेष आतिथ्यता रहेको थियो ।
अन्र्तक्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानिय निकायका प्रमुख तथा उप–प्रमुख, प्रतिनिधिहरु, विभिन्न विषयगत सहकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न प्रारम्भिक सहकारी संघ–सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजना, भूमि व्यावस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग र जिल्ला सहकारी संघ लिमिटेड धादिङको संयोजनमा भएको थियो ।
