
वैशाख ०९, धादिङ ।
पुनःनिर्माणमा खटिएका प्राविधिकहरु सेवा सुविधाको माग राख्दै पुनःआन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरु फेरी आन्दोलनमा उत्रिएका हुन् ।
प्राविधिकहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । यस अघि चैत महिनामा ५ बुँदे माग राखी सरकालाई दिएको ७ दिने अल्टीमेटम सकिदा पनि नेपाल सरकारको पक्षबाट कुनै पनि सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको वेनिघाट रोराङ गाउँपालिकाका प्राविधिक भद्रबहादुर कार्कीले बताउनुभयो । घामपानी, भौगोलिक विकटता नभनी फिल्डमा अतिरिक्त काम गरे वापतको सेवा सुविधा माग राखी पुन आन्दोलमा होमिनु परेको प्राविधिक कार्कीको दुखेसो छ ।

विकट क्षेत्रमा ज्यान जोखीममा राखेर पुन निर्माणमा सामान्य तलवको भरमा खटिदाको पिडालाई सरकारले ध्यान नदिएको प्राविधिकहरुको गुनासो छ । भुकम्प अति प्राभावित सबै जिल्लाका प्राविधिकहरुले सामुहिक राजिनामा दिएर दोश्रो चरणको आन्दोलन सुरु गर्न लागेको हो । प्राविधिकहरु विच सोमबार भएको छलफलले १० गते सम्पूर्ण प्राविधिकहरुको राजिनामा संकलन गर्ने, ११ गते पत्रकार सम्मेलन गरेर सामुहिक राजिनामाका विषयमा जानकारी गराउने र १२ गते नेपाल सरकारलाई सामुहिक राजिनामाको घोषणा गर्ने निर्णय भएको कार्कीले बताउनुभयो । पटक पटक प्राविधिकहरुले काम ठप्प पार्दा पुन सर्वेक्षण सहित भुकम्प पिडीतलाई भने प्राविधिक परामर्श, किस्ता सीफारीस लगायतका काम प्रभावित हुने भएको छ ।