कात्तिक २३, धादिङ ।
सोह्र वर्षअघि निर्माण भएको सिनेमा ‘तँ त साह्रै बिग्रिस नि बद्री’ले एउटा स्किम ल्याएको थियो । जस अनुसार बद्री नाम गरेका दर्शकले सिनेमा सित्तैमा हेर्न पाए । एक जना बद्रिमाया नाम गरेकी महिलाले समेत सित्तैमा सिनेमा हेर्न आएकी थिइन् । यो कुरा सिनेमाका निर्माता र कलाकारले अहिले पनि बिर्सेका छैनन् । गतवर्ष रिलिज भएको सिनेमा ‘जात्रा’को स्किम पनि दर्शकलाई आकर्षित गर्न सफल बन्यो । ‘जात्रा’ले ‘हजार समाऔं लाख कमाउँ’ भन्ने स्किम ल्याएको थियो । यस अनुसार ‘जात्रा’को फेसबुक पेजमा भएको सानो भिडियोबाट हजारको नोट समाएर स्क्रिन शट गरी फेसबुकमा पोस्ट गरेर ‘जात्रा’को पेजलाई ट्याग गर्ने मध्येबाट तीन सातासम्म हप्ताको एक जनालाई कलाकारहरसँग डेटिङ जाने अवसर प्रदान गरिएको थियो ।
त्यस्तै एक जनालाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहको लागि २ रात ३ दिनको टुर प्याकेज पनि उपलब्ध गराइएको थियो । त्यस्तै एक जना भाग्यशाली विजेतालाई ‘जात्रा’ सिनेमामा विपिन कार्कीले चलाएको इलेक्ट्रिक स्कुटर प्रदान गरेको थियो ।
सन्तोष सेनको निर्माण रहेको सिनेमा ‘प्रेम गीत २’ ले पनि सिनेमा प्रचार प्रसारमा फाइदा पुग्ने गरी एउटा स्किम ल्याएको थियो । यस स्किम अनुसार सिनेमाको शीर्ष गीतको कभर गीत गाउने मध्ये एक जोडीलाई विजेता बनाएर जनही एक लाख रुपैयाँ प्रदान गरिएको थियो । ‘प्रेमगीत’को समयमा पनि निर्माण टोलीले यो स्किम ल्याएको थियो । जसमा सागर राई विजेता बनेका थिए । उनले नगद पुरस्कार पाउनुका साथै ‘प्रेम गीत २’ मा गीत गाउने अवसर समेत पाएका थिए ।
यहि वर्षको भदौ २३ मा रिलिज भएको सिनेमा ‘दुई रुपैयाँ’ले पनि नाम जस्तै स्किम ल्याएको थियो । सिनेमाको नाम जस्तै यो सिनेमालाई दर्शकले दुई रुपैयाँमै हेर्न पाउने । हुन पनि सयौं दर्शकले यो सिनेमालाई दुई रुपैयाँमै हेरे ।
गत सातामात्रै प्रदर्शनमा आएको सिनेमा ‘फाटेको जुत्ता’ले गोल्डस्टार कम्पनीका झण्डै ३ सय नयाँ जुत्ता दर्शकलाई बाँड्यो । आफूसँग भएको फाटेको जुत्ताको तस्बिर फेसबुकमा पोस्ट गरेर ‘फाटेको जुत्ता’को फेसबुक पेजलाई ट्याग गर्ने मध्येबाट २ सय ५० जनालाई नयाँ जुत्तादिने निर्णय निर्माण पक्षले लिएको थियो ।
सिनेमाको यो स्किम अनुसार २ सय ५० जनामात्रै हैन झण्डै तीन सय जनलाई नयाँजुत्ता बाँडियो । फेसबुकबाट छानिएका २ सय ५० जना र जुत्ता बाँड्ने ठाउँमा फाटेको जुत्ता लगाएर आउने ३७ जनालाई नयाँजुत्ता बाँडिएको थियो ।
सिनेमा रिलिज भइसकेपछि पनि ‘फाटेको जुत्ता’लगाएर हलमा जानेलाई सित्तैमा सिनेमा हेर्न दिने हल्ला पनि निर्माण पक्षले चलाएको थियो । तर दोस्रो सातासम्म आइपुग्दासम्म यो कार्यान्वयन भने भएको छैन ।
यसै क्रममा मंसिर १ गतेदेखि प्रदर्शन हुन लागेको सिनेमा ‘झ्यानाकुटी’ले प्रचार प्रसारमा फाईदा पुग्ने गरी फोटो प्रतियोगिता राखेको छ । यस फोटो प्रतियोगितामा एक जोडीले ५१ हजार रुपैयाँ जित्ने अवसर छ । सिनेमाको पोस्टरमा अभिनेत्री बेनिशा हमालले सौगात मल्ललाई बोकेकी छिन् । यसरी नै आफ्नो पार्टनरलाई बोकेर सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गरेर झ्यानाकुटी पेजलाई ट्याग गर्दै #Nov17 / #Jhyanakuti क्याप्सन लेख्ने मध्ये सर्बाधिक लाईक पाउने एक जोडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
अहिले ‘झ्यानाकुटी’को यो स्किम चर्चामा रहेको छ । यस प्रतियोगितामा सहभागिता जनाउन तस्बिर पोस्ट गर्नेहरु त छन् नै साथै साथै सेलिब्रेटीहरुले समेत यो शैलीमा तस्बिर पोस्ट गर्दै सिनेमाको समर्थन गरेका छन् ।
यस बाहेक पनि सिनेमा प्रचार प्रसारमा सहयोग पुग्ने गरी कसैले रुमाल बाँड्न भ्याए त कसैले चाँदीको सिक्का । त्यस्तै केहीले अरुको सहयोगार्थ सिनेमा बनाएको भन्दै प्रचार गरे ।
(उज्यालो अनलाईनबाट)

Facebook Comments