कात्तिक २४, धादिङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ जारी गर्नुभएको छ । यससँगै काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लागेको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास हुन नसकेपछि सरकारले प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधन गर्ने गरी कात्तिक ६ मा अध्यादेश ल्याएको थियो । तर, प्रमाणीकरण नभएको भन्दै डा. केसीले अनसन बस्ने चेतावनी दिनुभएको थियो । यो अध्यादेश प्रतिनिधिसभाको बैठक बसेको ६० दिनभित्र पास हुनुपर्छ, नभए स्वतः खारेज हुन्छ ।

Facebook Comments