
कार्तिक ७,धादिङ
धादिङ तमु समाज काठमाडौंले यहि कार्तिक ९ गते शनिबारका दिन शुभकामना आदान- प्रदान तथा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । तमु समुदायहरुबीच एकआपसमा शुभकामना आदान प्रदान गर्नुको साथै साँस्कृतिक कार्यक्रम सहितको देउसी भैलो खेल्ने कार्यक्रम रहेको छ । देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमले पहिलो चरणमा काठमाडौं उपत्यकामा नयाँ कार्यालय भवन निर्माणको लागि आवश्यक जग्गा खरिद गर्ने योजना रहेको समाजका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा विभिन्न पेशा, व्यावसाय गरि बसोबास गर्दै आएका धादिङका गुरुङ समुदायहरुको पहलमा स्थापना गरिएको यस संस्थाले धादिङबासी गुरुङ समुदायलाइ संगठित गर्ने मुख्य उद्देश्य राखेको छ । यसका साथै तमु समुदायको शैक्षिक, सामाजिक, आर्थिक विकाससँगै गुरुङ समुदायको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको विकास र प्रवर्दन गर्ने ध्येयकासाथ समाजको स्थापना गरि विभिन्न किसिमका कार्य गर्दै आइरहेको छ ।