
साउन २५, काठमाडौं ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित टोड्के पात्ले स्थायी घर भएका मृगौला रोगि सुमित्रा गुरुङको स्वास्थ्य उपचारको लागि शनिबार धादिङ तमू समाज काठमाडौंको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ । लामो समय देखि मृगौला फेल भएर काठमाडौंमा उपचार गराईरहेका गुरुङको लागि समाजले रु.२,६६,१५०। अक्षेरुपी दुईलाख छैसठ्ठी हजार एकसय पचास रुपैंया नगद आर्थिक सहयोग गरेको हो । सहयोग रकम तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङको उपस्थितिमा प्रदान गरिएको थियो । काठमाडौंमा ज्याला मजदुरी गरी बसेका गुरुङको आर्थिक अवस्था कमजोर रहेको छ । नियमित डायलसिस गर्नको लागि आर्थिक अभाव भएपछि धादिङ तमू समाज काठमाडौंले, काठमाडौं उपत्यकामा विभिन्न पेशा, व्यवसाय गर्ने र स्वदेश तथा विदेशमा रहनुभएका तमू तथा अन्य समुदायहरुमा सहयोगको लागि अनुरोध गरेको र अनुरोध पश्चात सहयोग रकम संकलन गरिएको थियो । स्थापनाकालदेखि नै सामाजिक सेवा र सहयोगको कार्यमा अग्रसर रहि काम गरिरहेको यस तमू समाजले आगामि दिनहरुमा पनि विभिन्न किसिमका समस्या र अभावमा रहेका दिन, दुखि , पिडा र अभावमा रहेकाहरुको लागि अविभावको रुपमा साथ र सहयोग गर्ने धादिङ तमू समाज काठमाडौंका अध्यक्ष सन्त तमूले बताउनुभयो । साथै मृगौला रोगि सुमित्रा गुरुङको जीवन बचाउन तथा स्वास्थ्य उपचारको लागि यो थोरै रकम पर्याप्त नहुने भएको हुँदा सहयोग गर्न इच्छुक बाँकि सबै सहयोगि मनहरुलाइ सहयोगको लागि अनुरोध गरेको छ ।
