मंसिर १, काठमाण्डौं ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा शुक्रबार बिहान सवा सात बजे फाइनल यात्राका लागि नेपाल र अफगानिस्तानबीच खेल हुँदैछ । समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्नेछ ।

मलेसियाको किनरारा ओभल मैदानमा खेल हुँदैछ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गरेर सेमिफाइनलसम्म पुग्नु ठूलो उपलब्धी भएको बताएका छन् ।

‘सेमिफाइनलमा पुग्नु निकै ठूलो प्राप्ती हो । हामीले निकै राम्रो खेलेका छौँ । हामीले लगातार राम्रो खेलेका छौँ । हाम्रो मेहनतले अहिले नतिजा दिइरहेको छ । परिस्थिति अलि कठीन थियो तर हामीले आफ्नो योजनाअनुसार नै काम गर्यौँ’ प्रशिक्षक दासले भने ।

अफगानिस्तानसँगको सेमिफाइनल खेल सहज नहुने पनि उनले बताएका छन् । ‘अफगानिस्तानसँग हामीलाई सहज छैन । उनीहरुले निकै राम्रो खेलिरहेका छन् । उनीहरुलाई हाम्रो खेल राम्ररी थाहा छ । हामी अन्तिमसम्म पूरै मेहनत गरेर प्रस्तुत हुनेछौँ’ दासले भने ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको उज्यालो अनलाईनले लेखेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । नेपालले आइतबार इतिहासमै पहिलोपटक भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको हो ।

नेपाल भर्सेस अफगानिस्तानको यस्तो छ स्थिति

एसीसी यु–१९ एलिट कप
२००७ – नेपाल ४८ रनले विजयी
२००९ – नेपाल ६ विकेटले पराजित
२०११ – नेपाल ६ विकेटले विजयी समूह चरण, फाइनलमा अफगानिस्तान ६१ रनले विजयी

आइसीसी यु–१९ वल्र्ड कप क्वालिफायर
२०११ – नेपाल ४२ रनले विजयी
२०१७ – नेपाल १४२ रनले पराजित पहिलो लिग, नेपाल ९६ रनले पराजित दोस्रो लिग

एसीसी यु–१९ प्रिमियर लिग
२०१४ – अफगानिस्तान ५ विकेटले विजयी
२०१५ – अफगानिस्तान १० विकेटले विजयी

Facebook Comments