२६ असार, धादिङ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी साउन १ गते देखि लागु हुने गरि अवैध मोवाईल फोनहरु बन्द गर्ने जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ले आगामी साउन १ गते देखि लागु हुने गरि अवैध मोवाईल बन्द गर्ने तयारी गरेको हो । अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरी ल्याएको अवैध मोबाईलहरु नियन्त्रणका लागि एमडीएमएस सफ्टवेयर प्रणाली संचालनमा ल्याउने तयारी गरेको प्राधिकरणले जनाएको छ । एमडीएमएस प्रणाली सुरु भएपछि अवैध मोबाइल क्रमश बन्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएको छ । यस कामको लागि केहि महिना समय लाग्ने पनि बताएको छ  ।
एमडीएमएस प्रणालीलाई नेपालका टेलिकम कम्पनीहरूको प्रणालीसँग लिङक गर्ने काम सकिएको छ । अहिले सेवा प्रदायक संस्था र प्राधिकरणका कर्मचारीलाई प्रणाली सञ्चालनका लागि तालिम दिने काम भइरहेको छ ।

नेपालमा अवैध रुपमा विदेशबाट धेरै मोवाइलफोनहरु भित्रिने गरेका कारण यो प्रणाली लागु गर्न मोबाइल आयातकर्ताहरूले पहिलेदेखि माग गर्दै आएको थियो । यो प्रणाली पूर्ण रूपमा सञ्चालन भएपछि विदेशबाट नेपाल ल्याएर मोबाइल चलाउन मोबाइलको आईएमईआई नम्बर अनिवार्य रुपमा दर्ता गरेपछि मात्र मोवाईल चलाउन मिल्ने हुन्छ । आईएमईआई नम्बरका आधारमा फोन वैध वा अवैध हो भनेर यो सफ्टवेयरले पत्ता लगाउनेछ । अवैध मोबाइल भए प्रणालीमार्फत बन्द गर्न सकिन्छ । त्यसमा सिमकार्ड नै चल्दैन । एमडीएमएस प्रणालीले भन्सार छलेर भित्रिएका फोन समेत पत्ता लगाउँदछ । अनलाइन मार्फत नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट मोवाइलको आईएमईआई नम्बर दर्ता गर्न सकिनेछ ।

Facebook Comments