२०८३ आश्विन ३०, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एनपीएलमा ‘डीआरएस’ भित्र्याउने तयारी

एनपीएलमा ‘डीआरएस’ भित्र्याउने तयारी

नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याउने तयारी भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको प्रतियोगितामा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) भित्र्याउनेबारे अहिले छलफल केन्द्रित छ ।

क्यानका सचिव पारस खड्काकाअनुसार यो अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न झन्डै डेढदेखि २ करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ । यस विषयमा छिट्टै औपचारिक घोषणा गरिने सचिव खड्काले बताउनुभएको छ ।

डीआरएस प्रविधि जडानका लागि लाग्ने खर्चकाे व्यवस्थापन क्यान र सहभागी आठ वटै फ्रेन्चाइजी टोलीले संयुक्त रूपमा वहन गर्ने योजना छ । कमर्सियल मिडिया राइट्सबाट आउने ५० प्रतिशत आम्दानी बाँडफाँटको हिस्साबाट यो खर्च समायोजन गरिनेछ । यसले गर्दा कुनै एकल पक्षमाथि आर्थिक भार नपर्ने सचिव खड्काको भनाइ छ ।

अहिले छलफल मात्रै भइरहेको र यसबारे आधिकारिक निर्णय प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उहाँकाे भनाइ छ । यस्तै चिसो मौसम र शीत (ड्यु) को प्रभावलाई समेत दृष्टिगत गर्दै खेल केही छिटो शुरू गर्ने विकल्पमा पनि छलफल भइरहेको छ ।

एनपीएल आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल