
१३ असोज ।
सिद्धलेक गाउँपालिका १ बाजोगराका स्थानीय र सरोकारवाला निकाय विच छलफल गरिएको छ । नेपालका लागि फिनल्याण्डका राजदुत Pertti Anttinen आफु स्वयम आएर स्थानीयहरुको समस्या तथा सवालका विषयमा छलफल गरेका हुन् ।
Felm Nepal को आर्थिक सहयोगमा बाझोगरामा शान्ति नेपालले ६ वर्षदेखि सामुदायिक स्वास्थ्य तथा शसक्तिकरण परियोजना संचालन गरिरहेको छ । स्वास्थ्य, सरसफाइ, जीविकोपार्जन सुधारको लागि कार्यक्रम संचालन गरिएको हो । परियोजना मार्फत एक घर एक धारा, शौचालय, फिल्टरको प्रयोग, हात धुने स्थान, रछान मचानको व्यवस्था, केराको विरुवा वितरण, खेतीपाती तथा बाख्रापालन तालिम जस्ता कार्यक्रम संचालन गर्दै आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी परियोजनाको प्रभाव, दैनिक जीवनयापन, व्यवसायिक फलफुल तथा तरकारी खेती र भावी योजनाका विषयमा छलफल गरिएको हो ।

छलफल कार्यक्रममा परियोजनाबाट जीवनशैली फेरिएको बाजोगराबासीले बताएका छन् । परियोजना आएपछि समुहमा बस्ने र बचत गर्ने बानीको विकाससँगै व्यवसायिक खेतीमा लागेको सानो मंगल तामाङले बताउनुभयो । परियोजना भन्दा पहिले जाँडरक्सी खाएर समाज नै अस्तव्यस्त थियो । तामाङ भन्नुहुन्छ– अहिले जाँडरक्सी भन्दा पनि व्यवसायिक कृषि कर्ममा लागेका छांै । सबैले केरा, लसुन, प्याज जस्ता खेतीपाती गरिरहेका छौं । खानेपानीको समस्या समाधान भएको छ । सिंचाइको पनि सुविधा छ । अहिले फेरिएको जीवनशैली देखेर आफै दंग परेको उहाँले बताउनुभयो ।

समाज परिवर्तनमा परियोजनाले खेलेको भूमिकाप्रति स्थानीयहरु खुषी छन् । लालमाया बज्राचार्य शाक्यको अनुभव पनि उस्तै छ । समुहमा बसेर बचत गर्ने बानीको विकास भएको छ । समस्या परेमा समुहमै बसेर छलफल गरि समाधान गर्ने गरेको उहाँले बताउनुभयो । महिलाहरुलाई घरको काम गर्दा खानेपानी समस्याले सताएको थियो । परियोजना आएपछि एक घर एक धारा कार्यक्रम मार्फत आँगनमै खानेपानी आयो । आधि एक घण्टा लगाएर पानी लिन जानुपर्ने बाध्यता हटेको छ । कोरोनाबाट बच्न तथा सरसफाइमा पनि परिवर्तन भएको छ । सबैले घरमा फिल्टरले छानेको पानी पिउँछौं । खेतीपाती, बाख्रापालन जस्ता तालिम पनि पायौं । हाम्रो जीवनशैली फेर्न सहयोग गर्ने शान्ति नेपाल लगायत सहयोगी संस्थाप्रति आभार रहेको उहाँले बताउनुभयो ।

संघ संस्थाकै कारण बाजोगराबासीको विकास र जीवनशैलीमा परिवर्तन आएको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो । परियोजनाले समाजमा सकरात्मक परिवर्तन ल्याएको छ । पालिकासँग समन्वय गरि शान्ति नेपालले समाज रुपान्तरण र विकासको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै खानेपानीको क्षेत्रमा खानेपानी कोषमा स्थानीयले ५० हजार जम्मा गरे पालिकाले पनि ५० हजार थप गरिदिने उहाँले बताउनुभयो ।
कार्यक्रममा शान्ति नेपालका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्यले ६ वर्षदेखि बाझोगरामा परियोजना संचालन गरेको सार्थक भएको बताउनुभयो । बाझोगराबासीमा आएको परिवर्तन र उनीहरुको जोस, जाँगर, उत्साहले परियोजना सफल भएको बताउनुभयो ।
त्यस्तैगरी, नेपालका लागि फिनल्याण्डका राजदुत Pertti Anttinen ले फिनल्याण्डद्धारा शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलै रकम तथा सामाग्री सहयोग गरेको बताउनुभयो । परियोजनाको अवलोकनका लागि राजदुत धादिङ आउनुभएको हो ।

परियोजनाबाट बाझोगराबासीमा आएको सकरात्मक परिवर्तन, फेरिएको जीवनशैली, विकास अनि स्थानीयको उत्साह देखेर निकै खुषी लागेको उहाँले बताउनुभयो । किसानले लगाएको केराखेतीको अवलोकन गर्दै आत्मनिर्भर बनेकोमा खुषी व्यक्त गर्नुभयो ।