२५ असोज, धादिङ ।
आईतबार बुटवलको मोतीपुरमा विवादास्पद जग्गाको विषयलाई लिएर प्रहरी र स्थानीय बासिन्दाबीचको दोहोरो झडपमा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत गर्न बाँकी रहेको र शवहरू युनिभर्सल मेडिकल कलेज भैरहवामा राखिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा पर्ने प्रस्तावित औद्योगिक कोरिडोर क्षेत्रको जग्गा त्याहाका स्थानीयहरुले अतिक्रमण गरी बस्ती बसाल्ने योजना सहित प्रयास गरेको थियो । यता जिल्ला प्रशासन कार्यालयले भने उनिहरुलाइ हट्न अनुरोध गर्दा नमानेपछि आईतबार बल प्रयोग गरिएको हो । अतिक्रमीत स्थानबाट उनीहरुलाइ हटाउने क्रममा भएको विवादले उग्र रुप लिए पछि प्रहरीले गोली चलाएको बताइएको छ । उक्त स्थानमा केहि समय अघिदेखि सुकुम्बासीहरुले अस्थायी रुपमा बसोबास गरिरहेको थियो ।
४ जनाको मृत्यु भएपछि अवस्था नियन्त्रण बाहिर जाने र शान्ति सुव्यवस्थामा समेत जोखिम देखिने भएपछि आइतबार दिउँसो चार बजेबाट अनिश्चितकालका लागि मोतीपुर क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहिले जनाएको छ । यता गोली हानी जनताको हत्या गरिएको भन्दै प्रहरी प्रमुख र गृहमन्त्रीको चौतर्फी विरोध सहित राजिनामा समेत माग गरिएको छ ।