१९ मंसिर, धादिङ ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा रहेको वर्तमान बागमती प्रदेश सरकारले यस अघि कायम रहेको ८ वटा मन्त्रालयलाई विभाजन गरी १४ वटा पु¥याएको छ । प्रदेश सरकार स्थापनाको चरणमा बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित जम्मा ७ मन्त्रालय थिए । तर गत मंसिर १५ गतेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेशको हाल कायम रहेको मन्त्रालयलाई विभाजन गरी १४ वटा पु¥याउने निर्णय गरेको हो । उक्त निर्णयलाइ कार्यान्वयन गर्नको लागि मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिसकेको छ । सत्ता गठबन्धन दलहरुका बीचमा मन्त्रालय भागबण्डा नमिलेका कारण मन्त्रालय विभाजन गरिएको हो । भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे गठबन्धनका दलहरू बीच अझै पनि सहमति जुट्न सकेको छैन । हाल मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा गठबन्धनको सरकार कायम छ । प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, र जनता समाजवादी पार्टी सहभागी रहेका छन् ।

गत कार्तिक ११ गते मुख्यमन्त्रीको नेतृत्व समालेको पाण्डेले ४० दिन सम्म पनि मन्त्रिपरिषदलाई पुर्णता दिन सकेको छैन । मुख्यमन्त्री पाण्डेले यस बीचमा दुई चरणमा गरी ५ जना मन्त्री नियुक्त गरेका छन् । हाल बागमती प्रदेशमा ६ सदस्यीय मन्त्रिपरिषद् कायम रहेको छ । गत कात्तिक २५ गते प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादीका कृष्ण प्रसाद खनाल, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादीका कुमारी मोक्तान र भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाली काँग्रेसका कृष्णलाल भडेललाई नियुक्त भएको थियो । त्यस्तै दोस्रो चरणमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादीका तर्फबाट शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली काँग्रेसका निमा लामालाई नियुक्त गरेको थियो ।

प्रदेश सरकार सुरुको चरणमा बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित जम्मा ७ मन्त्रालय थिए । तत्कालीन समयमा प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय रहेको थियो । नेकपा एमालेका निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले उक्त समय कायम रहेका ७ मन्त्रालयलाई विभाजन गरी ८ वटा बनाएको थियो । शाक्यले प्रदेशको सामाजिक विकास मन्त्रालय विभाजन गरि स्वास्थ्य मन्त्रालय बनाएको थिइन् । जसका कारण बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको थियो । वर्तमान मुख्यमन्त्री पाण्डेले अस्वाभाविक रुपमा मन्त्रालयहरू विभाजन गरेका हुन् । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालय निर्माण गरेका छन् । उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर ३ वटा मन्त्रालय निर्माण गरेका छन् । मुख्यमन्त्री पाण्डेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय निर्माण गरेका छन् । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर २ वटा मन्त्रालय निर्माण गरिएको छ । जसमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ । यता भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर ३ वटा मन्त्रालय निर्माण गरिएको छ । जसमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका छन् । त्यस्तै मुख्यमन्त्री पाण्डेले सामाजिक विकास मन्त्रालयलाई पनि विभाजन गरेका छन् । सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय निर्माण गरिएको हो । यो सँगै साबिकको सामाजिक विकास मन्त्रालयबाट हाल ३ वटा मन्त्रालय निर्माण गरिएको छ ।

 

Facebook Comments