१२ माघ, २०७८
धादिङ– आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभा सदस्यकोे १९ पदका लागि आज निर्वाचन हुदैछ । राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान अनुसार निर्वाचन हुन लागेको हो । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । देशभरका विभिन्न प्रदेशको ८ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आगामी फागुन २० गते नेकपा (एमाले) का ८, नेकपा (एकीकृत समाजवादी)का ४, नेकपा (माओवादी केन्द्र)का ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुदैछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ जना मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । निर्वाचनमा स्थानीय तहका १ हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहेका छन् । यस निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् । ५९ सदस्सीय राष्ट्रियसभाका एकतिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने सवैधानिक व्यवस्था छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन् । आज हुने निर्वाचनमा सत्तागठबन्धन दलहरुको तालमेल रहेको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीको पनि तालमेल रहेको छ ।