२९ माघ
कोरोना भाईरस कोभिड –१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको भन्दै गत माघ ५ गतेदेखि आंशिक रुपमा मात्रै सेवा प्रवाह गरेको सर्वोच्च अदालतले भोली फागुन १ गते आइतबारदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । यस अघि माघ ४ गते बसेको बैठकले माघ ५ गतेदेखि आंशिक सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले यो बिचको समयमा बन्दीप्रत्यक्षीकरण, कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनकोहरुको मात्र सुनुवाइ भएको थियो । यसका साथै मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही र मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर पनि सुनुवाई गरेको थयो ।