१२ फागुन-  आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहायता सम्बन्धी परियोजना एमसीसीको विषयमा छलफल गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले एमसीसीमा छलफल गरियोस भनि प्रस्ताव पेश गर्ने संभावित कार्यसूची रहेको छ । साथै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आर्थिक वर्ष २०७७/०७८ को महान्याधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ ।

वर्तमान राष्ट्रिय राजनीतीको मुख्य एजेण्डा एमसीसी बनेको छ । यस अघि गत आइतबार सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दलहरुको विरोधका बीच प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापती शेरबहादुर देउवाको दवावमा एमसीसी संसदमा टेबल भएको थियो । सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि फागुन १६ गतेभित्र एमसीसी पास गर्ने पक्षमा छ । अन्तिम समयमा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र र नेकपा एसलाइ एमसीसीको पक्षमा मतदान गराउन प्रधानमन्त्री शेरबहादुर देउबाले विभिन्न चरणमा वार्ता र छलफल गरे पनि ठोस सहमति भएको छैन् ।

दुई सत्तागठबन्धन दलको यो निर्णयसंगै सत्ता गठबन्धन पनि यति बेला संकटमा परेको समाचारहरु आइरहेको छ । यता प्रधानमन्त्री शेरबहादर देउवा तथा नेपाली कांग्रेसका अन्य नेताहरु भने अहिले संसदको सबैभन्दा ठूलो दल एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिसँग पनि विभिन्न चरणमा वार्ता र छलफल गरिरहेको छ । नेपाली कांग्रेसका नेताहरुले एमसीसीको पक्षमा नरहने सत्तागठबन्धन दलहरुलाइ सरकारबाट बाहिरिन चेतावनी दिएको छ ।

यसका साथै बुधबार बेलुका सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठको बीच भेटवार्ता भएको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीको विषयमा छलफल हुने कार्यसूची सार्वजनिक भएपछि प्रचण्ड, श्रेष्ठ र सापकोटाबीच भेटवार्ता भएको हो । सभामुखले एमसीसी पास गर्न सहयोगी भूमिका नखेले सभामुखलाइ हटाउने सम्मको तयारीमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको सुचनाहरु बाहिर आए पछि यो भेट भएको आंकलन गरिएको छ ।

Facebook Comments