२३ चैत्र, २०७८
धादिङ – नेपाल सरकारले देशै भर संचालन गर्ने टाइफाइड विरुद्धको खोप अभियान २५ चैतदेखि २०७९ को वैशाख ३ गतेसम्म धादिङ जिल्लामा पनि संचालन हुनेछ । खोप अभियानको अन्तिम तयारीमा रहेको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोख्रेलले जानकारी दिएको छ । धादिङ जिल्लाको १३ वटै स्थानीय तहहरुमा यो अभियान संचालन गरिनेछ । यस अन्र्तगत ४ सय ९९ वटा विद्यालय र ११७ वटा स्वास्थ्य केन्द्रहरु गरी कुल ६ सय १६ वटा खोप केन्द्रबाट खोप लगाइनेछ ।
स्वास्थ्य कार्यालय धादिङले मंगलबार पत्रकारहरुसँग अन्र्तकृया कार्यक्रम गरी खोप अभियानको विषयमा जानकारी गराएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडको खोप लगाइने छ । यो खोप अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको भएकोले कुनै पनि आशंका नगरी खोप लगाउन र यस अभियानमा सहभागी हुन अनुरोध गरेको छ । यो खोप ९५ प्रतिशत भन्दा बढि प्रभावकारी हुने जनाएको छ । स्वास्थ्य कार्यालय धादिङले करिब १ लाख बालबालिकालाइ यो खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । साथै खोप अभियानमा सहभागी हुने महिला स्वास्थ्य स्वयमसेवीका, शिक्षक, शिक्षिका, खोप लगाउने स्वास्थ्यकर्मी र सुपरिवेक्षकहरुलाइ आवश्यक तालिम तथा अभिमुखिकरण सम्पन्न गरिसकेको पनि अधिकृत पोख्रेलले जानकारी दिएको छ ।
टाइफाइड विशेष गरी गर्मी समयमा लाग्ने रोग हो, यो रोग दुसित पानी, र प्रदुषित खानेकुराबाट सर्ने रोग हो । यो रोग विशेष गरी बालबालिकालाइ बढि सर्ने गर्दछ । यो रोग लागेमा ज्वारो आउने, रिंगाटा लाग्ने, वान्ता हुने, शरिर गल्ने तथा थाक्ने, खाना नरुच्ने जस्ता लक्षणहरु देखिन्छ । यस रोगबाट बच्न स्वास्थ्य जाँच गरी डाक्टरको सल्लाहा अनुसार नियमीत रुपमा औषधी सेवन गर्ने, स्वस्थ खानपान मात्र खाने, उमालेको तातो पानी मात्र पिउने र व्यक्तिगत सरसफाईमा ध्यान दिएमा यस रोगबाट बच्न सकिन्छ । नेपालमा प्रत्येक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइडबाट संक्रमित हुने गरेका छन् । उमेर समूहको हिसाबमा यो अन्यको तुलनामा बालबालिबालाई १० गुण बढी संक्रमण हुने रोग हो ।











