जस्ताको छानो, बासले बेरिएको गाइगोठ । गोठको आडैमा चुलो । कहिले एक हल गोरुसँगै डाँडा पाखा घुम्छन्, त कहिले डोको थुन्से बुनेर दैनिकी गुजारिरहेका छन् । तर गाउँ पुगोस् या बेशी अनि भन्ञ्याङ चौतारी ।
थुन्से बुन्दै गर्दा होस् या गोठालो जादा धुनीबेशी नगरपालिका ७ का कृष्ण बहादुर तामाङको साथमा सधै रेडियो गुञ्जिरहेको हुन्छ । गाउँमा रेडियो बाजेको उपनामले चिनिने तामाङ भन्नुहुन्छ्– ‘जग्गा किन्न छाडेर रेडियो किने । रेडियो मेरो साथी बनेको छ । अहिले म रेडियोसँगै हाँस्छु, रेडियोसँगै रुन्छु ।’
पैसा कमाउने कहरले तामाङ शहर छिरे । रहरले रेडियो किनेर गाउँ फर्केको बताउँछन् । अरुको घर तथा होटलमा रेडियो बजेको देख्दा रेडियो किन्ने उग्र चाहना जाग्यो । उहाँले भन्नुभयो– ‘२०२८ सालमा पहिलो पटक २ सय २५ रुपियाँ तिरेर रेडियो किनेँ । त्यतिखेर ज्याला मजदुरी गर्दा प्रतिदिन ५ रुपियाँ दिन्थ्यो । रेडियो किन्न मैले लामो समय खर्चिएको छु । रेडियो किनेको पैसाले गाउँठाउँमा धेरैनै जग्गा जमिन आउथ्यो ।
जग्गा किनेको भए अहिले करोडपति हुने रहेछु । रेडियो किने, देश विदेशको खवर सुन्न पाएँ र खुशी छु । रेडियो मेरो सुखदुखको साथी बनेको छ उहाँले भन्नुभयो । रोजी रोटीका लागि काठमाडौमा पाँच वर्ष मात्र होइन । उहाँ काँकडभित्ता, धरान, जनकपुर, मिर्चे लगायतका ठाउँहरु पुगको बताउँनुहुन्छ । तर ३० वर्षदेखि उहाँ गाउँमै हुनुहुन्छ ।
जहाँ पुगेपनि उहाँको साथमा रेडियो भने छुटेको छैन । उहाँले भन्नुभयो– ‘अहिलेसम्म दर्जन भन्दा बढी रेडियो किने होला । पछिल्लो समय धार्केमा सात सयमा किनेको रेडियो यहि हो ।’ रेडियो देखाउदै उहाँले भन्नुभयो । विहान उठेदेखि नसुतुन्जेल रेडियो सुन्छु । हिउँदमा प्रति महिना एकजोर व्याट्रीले पुग्छ । तर वर्खामा अलि बढी लाग्छ । एक जोरकै ८० रुपियाँ पर्छ । डोको धुन्से बेचेर व्याट्रीको जोहो गर्ने गरेको उहाँले बताउनुभयो ।
६३ वर्षिय तामाङको घरमा श्रीमती, छोरा बुहारीहरु पनि छन् । तर उहाँ प्रायः घर भन्दा अलि तल गोठमा एक्लै बस्नुहुन्छ । जाँगर चलेको बेला घर पनि जानुहुन्छछ । उहाँ भन्नुहुन्छ–‘एक्लै हुदा बोल्ने साथी हुदैन । रेडियो सधै मैसँग हुन्छ । रेडियो कार्यक्रम र समाचारले आफ्नै कुरा बोले जस्तै लाग्छ । धेरैले आफ्ना पिडाहरु सुनाउँछन् । उनीहरुले रेडियोमा रुदै आफ्नो पिडा भनिरहदा कति खेर आँखाबाट आँसु खस्छ पत्तै हुदैन । खुव चित्त दुख्छ ।
मान्छेहरुलाई कति दुःख पिडा छ । आफुलाई त आनन्दै छ जस्तो लाग्छ । फेरी कतिले खुषी सुनाउँछन् । गित गाउँछन्, रमाइलो गर्छन् । अनि रेडियोसँगै म आफु पनि रमाइरहेको हुन्छु । म त रेडियोसँगै हाँस्छु, रुन्छु अनि रेडियोसँगै बाँचेको छु ।’ उहाँले भन्नुभयो । प्रविधिले फड्को मारेपनि दुर्गम बस्तिको छाप्रोमा सुचना दिने रेडियो नै हो । उहाँले भन्नुभयो – ‘रेडियो सुचना लिने सहज र सुलभ माध्यम हो । मैले २०४६ सालको जनआन्दोलन, माओवादी शसस्त्र द्धन्द्ध, दरवार हत्याकाण्ड, देशमा विभिन्न समयमा भैरहेका निर्वाचन जस्ता महत्वपूर्ण सुचना रेडियोबाटै जानकारी पाए ।’ उहाँले भन्नुभयो । पहिले त गाउँलेले यो बुढा कति रेडियो सुन्छ भन्थे । के गर्नु पत्रपत्रिका गाउँसम्म आइ पुग्दैन ।
उहाँले भन्नुभयो– ‘गाउँमा टेलिभिजनको पनि पहँुच छैन । महंगा मोवाइल किन्ने हाम्रो क्षमता छैन । तर सुन्न चाँहि धेरैले अहिले गाउँमा रेडियो सुन्छन् । अरुहरुले पनि रेडियो सुनेको देख्दा खुखी लाग्छ । भर्खरै स्थानीय तहको निर्वाचन सकियो । चुनावको बेला त भोट हाल्न कहिले जाने देखि कहाँ कसले जित्यो भन्ने जानकारी लिन मानिसहरु रेडियो सुन्ने गर्छन् ।उहाँले भन्नुभयो । चुनाव त एउटा उदाहरण मात्र हो ।
हामीले सुचना लिने रेडियो नै हो । उहाँले थप्नुभयो– ‘पहिले रेडियो नेपाल सुन्थेँ । विस्तारै धेरै रेडियोहरु खुल्न थाले । धादिङमा पनि रेडियो धादिङ खुल्यो । अहिले त कति हो कति रेडियो पनि भनिसाध्य छैन । जे भएपनि हामी जस्तो गाउँलेहरुले सुचना पाएका छौं उहाँले भन्नुभयो ।











