आदिवासी जनजातिको सवाल र पत्रकारको भुमिकाबारे धादिङबेसीमा अन्तरक्रिया गरिएको छ । २८ औं विश्व आदिवासी दिवस र २३ औं फोनिज स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङले सरोकारवाला निकाय र पत्रकारबीच अन्तरक्रिया गराएको हो । पछिल्लो समय आधुनिकताको नाममा वा बाह्य संस्कृतिका कारण नेपालको आदिवासी जनजातिको संस्कृतिमा विचलन आएको अन्तरक्रियामा सहभागीहरुले औल्याएका छन् ।

आदिवासी जनजातिहरुको संस्कार, सस्कृति र परम्पराको जगेर्ना गर्दै नेपाली श्रोत साधनका मालिक भनेको आदिवासी जनजाति हुन् भन्ने कुराको पहिचान गराउन स्थानीय सरकारले पहल गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका उपमेयर एवं कार्यक्रका प्रमुख अतिथि दिपक विश्वकर्माले बताउनुभयो । विकटमा बसोबास गर्ने जनजातिका भाषा, सस्कृति र परम्पराको जगेर्ना गर्दै शिक्षामा जोड दिएर सीप र आयआर्जनसँग जोड्न सके आदिवासीको पहिचान स्थापित हुनेमा विश्वकर्माले जोड दिनुभयो ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अहिले पहिचानको विषय नेपाली राजनीतिमा सबैभन्दा महत्वपूर्ण राजनैतिक मुद्धा बनिरहेको पनि अन्तरक्रियामा सहभागीहरुले बताएका छन् । ‘राजनैतिक पार्टीहरूले समेत यो पहिचानको विषय आदिवासी जनजातिको मात्रै हो भन्ने तर्क गर्छन् यहाँ नेर नै नेताहरू सही विश्लेषण गर्न चुकिरहेका छन्’, नेपाल आदिवासी जनजाति समन्वय परिषद धादिङका पूर्व अध्यक्ष हरिशंकर गिदेल मगर भन्नुहुन्छ–‘यदि पहिचान हरायो भने कुनै जाति वा समुदायको अस्थित्व कायम रहन सक्दैन ।’ पहिचान भन्ने विषय कुनै शासक वा सम्राटले चाहेर पनि क्षणभरमै निर्माण गर्ने र मेटाउने विषय वस्तु नरहेकोले यसको अस्तित्व जोगाइराख्न जातीय संघसस्थाहरु सक्रिय रहनुपर्ने मगरले बताउनुभयो ।


अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले आदिवासी जनजातिहरुको सशक्तिकरण अभियानमा फोनिजको भूमिका महत्वपूर्ण रहने भनाई राख्नुभएको थियो । जनजातिका ज्ञान, सीपको उजागर गर्न र जिवित संग्राहलय स्थापनामा गरी आदिवासी जनजातिको कला सस्कृतिलाई पर्यटनसँग जोड्न सकिने शर्माले बताउनुभयो । सामाजिक संजालमा लेखिएका विचारहरुलाई पनि आम जनमानसले पत्रकारितासँग जोडिदिने र त्यसले समाजमा फैलाउने गरेको नकारात्मक भ्रमले पत्रकारिता पेशालाई नै चुनौति दिएकोले यस्ता चुनौतिसँग एक भएर लड्न फोनिजकर्मीहरुलाई आग्रह गर्नुभयोे ।

फोनिजको सक्रियताले नेपाल पत्रकार महासंघ नै सक्रिय रहने पनि शर्माले विश्वास व्यक्त पनि गर्नुभयो । नेत्रावती डबजोङ गाउँपालिकाका प्रवक्ता एवं् वडा नं. १ का वडा अध्यक्ष ठाकुर गुरुङले आदिवासी जनजातिहरुको जातीय सवाललाई माथी उठाउन सहयोग गरिदिन स्थानीय सरकारहरुसँग माग गर्नुभयोे । फोनिज र फोनिजमा आवद्ध पत्रकारहरुलाई आफुले सक्दो सहयोग गर्ने पनि गुरुङले बताउनुभयो । फोनिज संघीय समितिका सदस्य उद्धव चेपाङले आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र साँस्कृतिक पहिचानले सिंगो देशलाई नै चिनाइरहेको बताउनुभयो । संरक्षण सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

‘आदिवासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परा रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहार भएको जाति वा समुदाय सम्झनुपर्छ’, चेपाङले भन्नुभयोे । कार्यक्रममा सहभागी जातीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार संघ संगठनका प्रमुखहरुले पनि आदिवासी जनजातिको सवाल सरकारको प्राथमिकतामा नपरेको बताएका थिए ।