
नेपाली काँग्रेसका उम्मेदवार रामनाथ अधिकारी आफूले रुविभ्यालीबासीको विश्वास पाएको बताउनु भएको छ । उत्तरी क्षेत्रको रुविभ्याली गाउँपालिकाको घरदैलो सकेर खनियाबास प्रवेश गरेका उम्मेद्वार अधिकारीले सो कुरा बताउनुभएको हो । लोकतान्त्रिक गठबन्धनबाट मात्र देशको आर्थिक विकास सम्भव छ भन्नेमा जनताको विश्वास पाएको अधिकारीले बताउनु भयो ।
रुविभ्यालीवासीमा विकासले निकै पछाडि परेकोमा निराशा छ र त्यही निराशालाई आशामा परिवर्तनको विश्वास आफूहरुमाथि उहाँहरुको रहेको अधिकारीको भनाइ छ । ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना, रुविभ्याली लगायतको घरदैलोले आफूलाई उत्साह थपेको बताउँदै अधिकारीले नेपाली काँग्रेस र गठबन्धन दलभित्र सबै नेता कार्यकर्ता एक भएर लागि परिरहेको बताउनु भयो ।
अधिकारीसँगै घर दैलोमा पुग्नुभएका एकीकृत नेकपा माओवादीका प्रदेश उम्मेदवार जगत सिँखडा पनि घरदैलोबाट उत्साहित हुनुहुन्छ । गठबन्धन दलका नेता कार्यकर्ता एकजुट भएर निर्वाचन अभियानमा लाग्नुभएको छ, सबै गाउँ टोलमा गठबन्धन उम्मेदवारको मात्रै चर्चा रहेको र जनतामा विश्वास पनि गठबन्धन दलमा नै रहेको पाइएको सिँखडाको भनाइ छ ।