२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फिफा विश्वकप : क्रोएसियाको पहिलो जित

फिफा विश्वकप : क्रोएसियाको पहिलो जित

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ मा एन्ड्रेज क्रामारिचको दुई गोल प्रेरित क्यानाडालाई ४–१ गोलको नतिजामा पराजित गर्दै साविक उपविजेता क्रोएसियाले पहिलो जित निकालेको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको दोस्रो मिनेटमै अलफोन्सो डेभिसको गोलमा क्यानाडाले अग्रता लिएको थियो ।

अग्रता बचाउन नसक्दा खेलको ३६औं मिनेटमा क्रोएसियाका क्रामारिचले बराबरी गोल फर्काएका थिए । मार्को लिभाजाले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै क्रोएसियालाई २–१ को स्थितिमा ल्याएका थिए । दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको क्रोएसियाका क्रामारिचले खेलको ७०औं मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको इन्जुरी समयमा सब्सिट्युट खेलाडी लोभ्रो माजेरले गोल गर्दै क्रोएसियाको जित ४–० ले सुनिश्चित गरेका थिए । उनी खेलको ८६औं मिनेटमा माटेओ कोभासिसको स्थानमा मैदान प्रवेश गरेका थिए । समूह चरणको पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियालाई समूह चरण पार गर्ने सम्भावना बचाईराख्न आजको खेल जित्नै पर्ने दवाव थियो । जितसँगै तालिकामा दुई खेलबाट चार अंकसहित क्रोयसिया तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

पराजित क्यानाडा एक खेल अगावै बाहिरिएको छ । क्रोएसियाले समूह चरणको अन्तिम खेलमा बिहिबार बेल्जियमको सामना गर्नेछ ।

यस्तै विश्व कप फुटबल अन्तर्गत समूह 'एफ' को दोस्रो चरणको खेलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हराएको छ । कतारको अल थुमामा स्टेडियममा भएको खेलमा बेल्जियम मोरक्कोसँग पराजित भएको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३औँ मिनेटमा पहिलो गोल र इञ्जुरी समयकाे दोस्रो मिनेटमा जाकारिया अबोउखालले दोस्रो गरे । उनीहरु दुवै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
पहिलो हाफको इञ्जुरी समयमा चियाचले गोल गरे पनि भीएआरले अफसाइड मान्यता दिएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो ।

जितसँगै मोरक्कोले विश्व कपको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएकाे छ । मोरक्को चार अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने पहिलो खेलमा क्यानडालाई पराजित गरेको बेल्जियम ३ अङ्कसहित दोस्रो स्थानमा छ ।

मोरक्कोले अब अन्तिम खेल क्यानडासँग खेल्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।