२३ फागुन
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्धको रिट निवेदन दर्ता नगर्न रिट निवेदक जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणलाइ नेपाली कांग्रेसका नेताहरुले निर्देशन सहित दबाब दिएको समाचार आएको छ । रामेछापबाट यस अघि कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले प्रचण्डविरुद्ध ५ हजार मानिस हत्याको जिम्मा लिएको भन्दै कारवाहीका लागि रिट दर्ता गर्न खोजिरहेका छन् ।

रामेछाप सुनापति गाउँपालिका अध्यक्षको उम्मेदवारसमेत रहेका महाधिवेशन प्रतिनिधि मोक्तानले आफूहरुलाई पार्टी नेताहरुले जे भने पनि पीडितको हिसाबले रिट दर्ता गरेरै छाड्ने बताएका छन् । मोक्तानले अदालतको आदेशको पूर्णपाठ नआएकाले दर्ता नभएको हो, आए लगत्तै दर्ता गराउँने बताएको छ । मोक्तानकी सानीआमा रेलीमाया मोक्तानको तत्कालिन समयमा माओवादीहरूले अपहरणपछि धारिलो हतियारको प्रयोग गरि हत्या गरेका थिए । दोरम्बा हत्याकाण्डको सुराकी गरेको भन्दै स्वास्थ्य स्वयंसेविका रेलीमायालाई अपहरणपछि यातना दिएर हत्या गरिएको मानव अधिकार आयोगले जनाएको छ । रेलीमायाको हत्याको क्रममा स्तनसमेत काटिएको थियो ।
त्यस्तै, मुख्य रिट निवेदक ज्ञानेन्द्रराज आरण कांग्रेसका पूर्व महासमिति सदस्य तथा हाल बागमती प्रदेश महाधिवेशन प्रतिनिधि हुन् । उनका पिता तत्कालीन कांग्रेस नेता तथा गाविस अध्यक्ष टीकाराज आरणको माओवादीले अपहरणपछि हत्या गरेको थियो । माओवादीका नेताहरुले रिट निवेदक नेपाली कांग्रेसका जिम्मेवार नेताहरु रहेको भन्दै उनीहरुलाई रोक्न दबाब दिएका छन् । यसले राष्ट्रपति चुनावममा प्रभाव पार्न सक्ने आशंका गरेका छन् ।