२७ चैत्र
तमू (गुरूङ) संचारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन कास्कीको पर्यटकीय गाउँ ताङतिङ (तोनी नासा) मा सम्पन्न भएको छ । चैत्र २४ देखि २६ गतेसम्म भएको महाधिवेशनबाट चित्र बहादुर तमू (लाला) को अध्यक्षमा ११ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत निर्वाचित भएका छन् ।
संचारकर्मी संघको उपाध्यक्षमा कास्कीकी खिमाकुमारी गुरूङ, महासचिवमा चितवनका चित्रबहादुर गुरूङ (सोल्टी), सचिवमा रूपन्देहीका कोमबहादुर गुरूङ र कोषाध्यक्षमा गोरखाकी अनिता गुरूङ चयन भएका छन् । त्यसै गरि सदस्यहरूमा काठमाडौँका केशव गुरूङ, कास्कीका किरण गुरूङ र इन्द्रबहादुर गुरूङ, गोरखाका केशव गुरूङ, धादिङका दोलख गुरूङ र चितवनका दानबहादुर गुरूङ निर्वाचित भएका छन् । निर्वाचित समितिको कार्यकाल आगामि ३ वर्षसम्म रहनेछ ।
नेपालभर छरिएर रहेका विभिन्न संचार संघ–संस्थाहरुमा आवद्ध रहि संचार कर्म गरिरहेका तमू (गुरुङ) संचारकर्मीहरुलाइ संगठित गर्ने, उनिहरुको पेशा, अधिकार र जनजिविकाको विषयमा पैरवी गर्नुका साथै गुरुङ समुदायको पहिचान, भाषा, धर्म , संस्कार, संस्कृतिका साथै सामाजिक, आर्थिक र राजनैतिक विषयहरुका सवालमा यस तमू (गुरूङ) संचारकर्मी संघ नेपालले बहस र पैरवी गर्दै आएको छ ।
कास्की जिल्लाको मादी गाउँपालिका वडा नंं. २ स्थित तमू (गुरुङ) हरुको एैतिहासिक थाक थलो एवं सुन्दर पर्यटकिय गाउँ ताङतिङ (तोनी नासा) मा भएको तमू (गुरूङ) संचारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाट सत्र संचारकर्मी संघका अध्यक्ष रविन गुरुङको अध्यक्षता र गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलास्रोत मन्त्री माननीय बेद बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो। साथै मादी गाउँपालिकाको उपाध्यक्ष कल्पना गुरुङको विशेष आतिथ्यता रहेको थियो । महाधिवेशनमा देशभरिका करिब ७० जना तमू (गुरुङ) सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

चैत्र २४ देखि २६ गतेसम्म भएको महाधिवेशनले १७ बुँदे ताङतिङ (तोनी नासा) घोषणापत्र समेत जारी गरेको छ । घोषणा पत्रमा समावेश भएका कुराहरु-
१) सम्पूर्ण तमू (गुरूङ) सञ्चारकर्मीबीच नियमित सम्पर्कमा रही व्यक्तिगत तथा व्यावसायिक सम्बन्ध अभिवृद्धिका लागि उपयुक्त वातावरण सिर्जना गर्ने ।
२) तमू (गुरूङ) सञ्चारकर्मीहरूको दक्षता र क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको व्यवस्थासँगै स्थानीय तथा प्रदेश तहमा कार्यरत सञ्चारकर्मीहरूलाई मूलधारको सञ्चार माध्यममा अवसरको सहजिकरणमा जोड दिने ।
३) संस्थालाई सक्रिय तुल्याउँदै संस्था र तमू (गुरूङ) सञ्चारकर्मीहरूको प्रतिष्ठा अभिवृद्धि गर्न निरन्तर कृयाशील रहने ।
४) सञ्चार क्षेत्रमा आउने तमू समुदायका नयाँ पिँढीलाई प्रोत्साहित गरिने ।
५) कार्य क्षेत्रमा खटिँदा वा अन्य अवस्थामा आइपर्ने भवितव्य दुर्घटना आदिमा सामूहिकरूपमा सहयोग लिने÷दिने व्यवस्थाका लागि संस्थाले प्रभावकारी ढंगले काम गर्ने। त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्ने ।
६) तमू (गुरूङ) सञ्चारकर्मीहरूलाई व्यावसायिकरूपमा सबल र सक्षम बनाउनुका साथै उनीहरूको आर्थिक अवस्था सुदृढ तुल्याउन विभिन्न उपायको खोजी तथा अवसर सिर्जना गरिने ।
७) राष्ट्रियस्तरका सञ्चार माध्यमहरूका समाचार कक्ष तथा कार्यक्रम उत्पादनमा समावेसी बनाउन दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने ।
८) राष्ट्रिय सञ्चार माध्यमहरूमा संविधानमा व्यवस्था भएको समावेशी सम्बन्धी ऐन नियमहरूको अक्षरश – कार्यान्वयन गर्दै समावेशी ऐन नियमविपरितका सबै व्यवस्था तत्काल संशोधन गर्न दबाब दिने ।
९) देशका सबै भाषाभाषीको संरक्षण र सम्वद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारलाई दबाब दिने ।
१०) प्रदेश तथा स्थानीय तहमा रहेका पहिलो भाषालाई प्राथमिकता दिई त्यसमा समाचार तथा कार्यक्रम उत्पादन र प्रशारण गर्ने र स्थानीय तहमा सञ्चालनमा रहेका छापा तथा विद्युतीय सञ्चार माध्यममा नियमितरूपमा प्रकाशन तथा प्रशारणको व्यवस्था मिलाउन दबाब दिने ।
११) देशका आदिवासी, जनजतिहरूको पहिचानलाई चीरस्थायी बनाउन संविधानप्रदत्त पहिचान सम्बन्धी अधिकारको कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्ने ।
१२) आदिवासी जनजातिहरू समुदायका लागि जल, जंगल र जमिनसँग उनीहरूको परम्परागत धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जनजीविकाको सम्बन्धलाई मध्यनजर गरी त्यस्ता क्षेत्रमा सञ्चालन गरिने कुनै पनि विकास निर्माणका काममा स्थानीय आदिवासी, जनजतिका अधिकारलाई उच्च प्राथमिकतामा राख्न र उनीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्ने ।
१३, विश्वभर छरिएर रहेका तमू समुदायका भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि उपयुक्त वातावरण सिर्जना गर्न सञ्चार क्षेत्रबाट बहस र पैरवी गर्ने ।
१४) देशभरका सञ्चार माध्यममा प्रशारण भइरहेका गुरूङ (तमू) भाषाका कार्यक्रम र समाचारहरूको विवरणसहितको अभिलेख तयार पार्ने ।
१५) तमू समुदायको भाषा, संस्कृति, संस्कार, धर्म, परम्परा र ऐतिहासिक पृष्ठभूमिको उजागर गर्ने तथा समुदायको सर्वाङ्गीण हकहित र प्रतिष्ठा अभिवृद्धि हुने किसिमका कार्यक्रम तयार पारी देशभरका सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था मिलाउने ।
१६) कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ गाउँको कृषि, पर्यटन, घरेलु उद्योगलगायतका विभिन्न क्षेत्रको विकाससँगै स्थानीय गुरूङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याई तदारूकताका साथ कार्यान्वयनमा ल्याउन गण्डकी प्रदेश सरकार र संघीय सरकारसँग तम् सञ्चारकर्मी संघ, नेपाल जोडदार माग गर्दछ ।
१७) तमू (गुरूङ) सञ्चारकर्मी संघको पाँचौं राष्ट्रिय महाधिवेशन कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ गाउँमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय बासिन्दा, स्थानीय आमा समूह, स्थानीय युवा क्लब र विभिन्न सहयोगी दाताहरूबाट प्राप्त भएको सहयोगको उच्च प्रशंसा गर्दै संघ हार्दिकतापूर्वक कृतज्ञता जाहेर गर्दछ ।