चैत्र २३, २०७९
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । साथै ‘नेपाल डेभलपमेन्ट अपटेड (अप्रिल २०२३) ः फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भारोमेन्ट’ ले नेपालको अर्थतन्त्र आर्थिक वर्ष सन् २०२३ मा ४.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । यो अघिल्लो वर्ष सन् २०२२ को तुलनामा कम हो । आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रको पुनरारम्भ, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९ प्रतिशत सम्म पुग्ने अपेक्षा गरिएको छ ।
सन २०२३ मा आर्थिक वृद्धि कम हुनुका पछाडि उत्पादन र कारोबारमा सुस्तता रहेको जनाएको छ । नेपाल मात्रै नभएर दक्षिण एसियाका अधिकांश मुलुकमा विगत १८ महिनादेखि औद्योगिक उत्पादनमा सुस्तता आएको अर्थ विश्लेषकहरुले जनाएको छ । यसका साथै छिमेकि राष्ट्र भारतमा पनि उत्पादनमूलक क्षेत्रमा २ प्रतिशतले संकुचन आएको विश्व बैंकको साउथ एसिया इकोनोमिक फोकसको रिर्पोटले देखाएको छ ।
नेपाल सरकारका अर्थ सचिव तोयम रायाले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन् । चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहनुका साथै पर्यटन, कृषि तथा जलविद्युत् क्षेत्रमा पनि सुधार भइरहेकाले अर्थतन्त्रलाई त्यसले सकारात्मक बनाउने उनको भनाइ छ । अर्थ सचिव रायले कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा परेको बाह्य दबाब यथावत् रहेको बताएका छन् ।