चैत्र ३०
धादिङ – वातावरण तथा जलवायु परिवर्तन सचेतना सम्वन्धी डिभिजन वन कार्यालय धादिङले सार्वजनिक अनुरोध तथा अपिल गरेको छ । पृथ्वी हामी सबै प्राणीहरुको एक साझा घर हो । यसलाई चारैतिर विभिन्न ग्याँस मिश्रित वायुमण्डलले घेरेको छ । वायुमण्डलमा करिब २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन, ०.०३ प्रतिशत कार्वनडाईअक्साईड र बाँकी अन्य ग्याँसहरुले ओगटेको छ । सूर्यबाट पृथ्वीको सतहमा प्रवेश गरेको ताप विकिरण बायुमण्डलमा रहेका हरित गृह ग्याँसहरुको अवरोधको कारण फर्किन नसक्दा पृथ्वीको सतह, वायुमण्डल र समुद्रको सतह तातिन्छ । जसको असरका कारण कार्वनडाईअक्साईडको मात्रामा वृद्धि र तातो हावा,पानी हुनु हो । औद्योगिक क्रान्ति पछि मानविय गतिविधिका कारण उत्सर्जन भएका हरितगृह ग्याँसहरुको मात्रा वायुमण्डलमा अत्यधिक मात्रामा बढ्न थालेको छ । पृथ्वीकोे तापमान मानविय रुपमा हानीकारक हुने गरी बढिरहेको छ ।

वायु प्रदुषण, जल प्रदुषण र फोहर प्रदुषण लगायतका हानिकारक मानविय गतिविधिको कारण विश्व तापमान वृद्धिमा झनै बल पुगेको छ । जसमा प्लाष्टिक जन्य वस्तुहरु डढाउने, वन डढेलो, वन विनाश, वन अतिक्रमण, खोरिया फँडानी, अवैधानिक वन कटान जस्ता मानविय गतिविधिहरुले वातावरण प्रदुषण बढ्नुका साथै जलवायु परिवर्तनमा तिब्र असर पुगेको छ । जलवायुको गुणहरुमा परिवर्तन हुदैजाँदा तापक्रम र वर्षाको मात्रा, तालिका र तिब्रतामा फेरबदल आएको हामी सबैले महशुस गरेका छौँ । यसबाट मानिसको जीवनको आधार वन र जैविक विविधता, स्वास्थ्य, पूर्वाधार, ऊर्जा, पर्यटन, वसोबास लगायत जिविकोपार्जनसँग सम्वन्धित क्षेत्रहरुमा प्रत्यक्ष असर महशुस गरिएको छ । यसको कारण हरेक वर्ष बाढी, पहिरो, हावाहुरी तथा वन डढेलो जस्ता जलवायु जन्य प्रकोपका कारण ठूलो मात्रामा जन धनको क्षति भईरहेको छ ।
यसैले वातावरण प्रदुषण कम गर्न र जलवायु परिवर्तनका नकारात्मक असरहरुबाट बच्न विभिन्न कुराहरुलाई ध्यान दिई व्यवहारमा कार्यान्वयन गर्नु गराउन समस्त सर्वसाधारण र सरोकारवाला जनसमुदायहरुसँग डिभिजन वन कार्यालय धादिङले अपिल गरेको छ ।

वातावरण तथा जलवायु परिवर्तन सचेतना सम्वन्धी, डिभिजन वन कार्यालय धादिङको अपिल:
१. प्लाष्टिक, धातु र सिसाजन्य सामग्रीको प्रयोग कम गरौँ । दैनिक उपभोग्य सामग्री प्रयोग गरेपछि फाल्नुपर्ने फोहोरमा कुहिने र नकुहिने पदार्थ अलग गरेर सुरक्षित विसर्जन, पुनःप्रयोग वा पुनः चक्रण  (Recycling)  गरी प्रयोगमा ल्याऔं ।
२. प्लाष्टिक र काष्ठजन्य सामग्रीको अनावश्यक डढाउने काम नगरौँ । सफा हरितऊर्जा (जलविद्युत) र सौर्य ऊर्जा प्रयोग गरौं, प्रयोग गर्न प्रोत्साहित गरौं ।
३. सामुदायिक वन उपभोक्ता, कवुलियती वन समूह सदस्य तथा निजी वन कृषकहरुले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका गतिविधिहरुलाई वन व्यवस्थापन कार्ययोजनाको अभिन्न अंग बनाऔं र प्रभावकारी रुपले कार्यान्वयन गरौं ।
४. वन श्रोतको उत्पादकत्व पत्तालगाई वार्षिक स्वीकार्य कटानको परिधी भित्र रही वन पैदावारको दीगो ढंगले सदुपयोग गरौं ।
५. वन डढेलोले गर्दा कार्वनडाईअक्साईड उत्सर्जन भई बायुमण्डल थप तातिने हुँदा वन डढेलो लाग्ने, लगाउने वा वन डढेलो लगाउन दुरुत्साहन गर्ने काम कसैले कहिंल्यै नगरौं ।
६. हरेक वर्ष सुख्खा र गर्मी याममा (फाल्गुन देखि भदौ) वनमा डढेलो लाग्नाले कार्वन उत्सर्जन भई तापमान बृद्धिमा नकारात्मक सहयोग पुग्ने हुनाले सुख्खा याम आउनु अघि नै वन व्यवस्थापन गरी वनमा सुकेका काठ दाउरा, पत्कर लगायतका प्रज्वलनशील पदार्थ संकलन गरी सुरक्षित रुपमा विसर्जन वा खाडलमा हाली कम्पोष्ट मलमा परिणत गरौं ।
७. सजिलै कुहिने सामग्रीको प्रयोगमा जोड दिऔं ।
८. राजमार्गमा गुड्ने सवारी साधनका यात्रुहरुले प्लाष्टिकजन्य सामग्री सडकमा नफालौं, आफूले पनि नफालौं र अरुलाई पनि नफाल्न प्रेरित गरौं । यातायात व्यवसायीहरुले समेत सवारी साधन भित्र फोहोर संकलन गर्ने डष्टबिन राखी त्यसैमा मात्र फोहोर जम्मा गरौं ।
९. वनका रुख विरुवाले वायुमण्डलको कार्वनडाईअक्साईड अवशोषण गरी हरितगृह ग्याँस उत्सर्जन कम गर्न महत्वपूर्ण र अहम् भूमिका खेल्ने हुँदा निजी बारी, कान्ला, सार्वजनिक जग्गा, सडकको दुबैतर्फको खाली ठाउँ, कुलो र नहरको डिल, जग्गाको साँध, सामुदायिक वन र कवुलियती वनका खाली स्थानमा धेरै भन्दा धेरै वृक्षारोपण गरौं । साथै वन विनाश हुने काम नगरौं र नगराऔं ।

 

Facebook Comments