२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सरकार सत्ता र मोर्चा

सरकार सत्ता र मोर्चा

मुलुकको राजनैतिक तरलता अस्थीर रहेको छ भन्ने कुराको प्रमाण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको सत्तारोहण हुनु अघिको राजनैतिक परिदृष्य र गठबन्धन अनि उनी प्रधानमन्त्रीमा नियुक्त हुदाको बखतमा बनेको नयाँ सत्ता समीकरण तथा त्यस पछि विश्वासको मत लिने र नयाँ राष्ट्रपति चयन गर्ने सवालमा भएका समीकरण फेरबदलका राजनैतिक धरातल र वैचारिक मान्यताहरु आफैमा विश्वसनीय छैनन भन्ने कुरा प्रमाणित भएको देखिन्छ ।

नेपालमा वाम र गैरवाम दुई ध्रुविय राजनिति रहेको भन्ने मान्यता विपरित राजनैतिक समीकरणहरु बन्ने र भत्कने क्रम र उपक्रम कुन मोडमा गएर कस्तो आकार प्रकारमा उद्धघटित हुन्छ भन्ने कुरा सामान्य राजनैतिक दर्शनमा आधारित नहुने खालको अभ्यासले एकातिर राजनैतिक विष्लेषक तथा जानकारहरुको राजनैतिक अनुमान तथा प्रक्षेपणहरु गलत हुने प्रतिशत बढायो भने अर्कोतिर सबैदलहरु वैचारिक रुपमा स्पष्ट भएनन् भन्नेहरुको भनाई पुष्टि गर्ने आधारहरु बलियो हुदै गयो ।त्यस बाहेक राजनैतिक दलहरु वैचारिक धरातलमा उभिनु पर्छ भन्ने विश्वव्यापी मान्यतामा पनि नेपालका दलहरुलेगज्ज्बको प्रहार गरे ।

नेपाली राजनीतिको यो विडम्बनापुर्ण परिघटनाहरुको श्रृंखला कहिलेसम्म जारी रहन्छ भन्न सकिने अवस्था अmझै देखा परेको छैन । सामान्यतया दलहरु वैचारिक धरातलमा अडिएर स्थापित हुन्छन भन्ने नै हो फरक फरक समुदाय, जात, जाती, भाषा भाषी, वर्ग, लिंग र संस्कृतिका जनतालाई राज्य सञ्चालनका लागी एकाकार गर्ने महत्वपूर्ण औजार नै दलहरु हुन् ।

जनताका आकांक्षालाई राज्यसत्तासँग जोड्ने गरी राज्य सञ्चालन गर्ने र जनहितकारी राज्यको अवधारणा विकसित भएसँगै प्रजातन्त्रका नाममा दलहरुले जनताबाट अनुमोदनित भई शासनाधिकार जनप्रतिनिध मार्फत प्रयोगमा ल्याउछन्। आधुनिक राज्यमा दलहरु नै जनताका प्रतिनिधिमुलक संस्था हुन जसले स्पष्ट वैचारिक जगमा उभिएर आम जनताका समस्याहरुलाई उसको वैचारिक जगमा एकाकार गराई मुद्दा र दर्शनका आधारमा जनताको मत जित्ने प्रयत्न गरिएको हुन्छ । तर नेपाली समाजको वैचारिक धरातल स्खलन भएको भनौं या वैचारिक रुपमा स्खलित भएका दलहरुले समाजलाई स्पष्ट विचार प्रवाह गर्न नसकेको परिणाम भनौ यतिखेर मुलुकको सत्ता राजनीति र्ककलाका पातमा अडिएको पानी जस्तो भएको छ जो कतिखेर कता ढल्कने हो कतिखेर पोखिने हो अनुमान लगाउन कठिन देखिन्छ ।

यसै सन्र्दभमा सत्तामा रहेको केही दलहरु अहिले वैचारिक आवरणमा एउटै मोर्चामा समाहित हुने प्रयत्नमा रहेको देखिन्छ । फरक खालको राजनैतिक मान्यता बोकेका भए पनि कुनै समय एकै दलमा रहेका र खासगरी वामपन्थी विचारधार बोकेका दलहरु माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द लगायत बाबुराम भट्टराईहरुलाई समेटेर समाजवादी मोर्चा बनाउने बजार हल्ला र त्यसको तयारी भैरहँदा मोर्चाको पक्ष विपक्षमा तर्कहरु पनि आउन थालेको देखिन्छ ।

माओवादीका अध्यक्ष प्रचण्डको समाजवादी केन्द्र बनाउने मनोकांक्षा पुरा नभए पनि मोर्चा निर्माण गर्न सफल भए भने पनि उनको राजनैतिक शक्ति बढ्ने देखिन्छ। मोर्चाको निर्माण किन यतिखेर भन्ने प्रश्न उठेको पनि देखिन्छ। कुनै समय मुलुककै ठुलो दल रहेको माओवादी छिन्न भिन्न भएर आकारमा खुम्चिएको र सरकारको नेतृत्वमा रहे पनि जुनसुकै बेला सत्ताबाट बाहिरिनु पर्ने त्रासका कारण पनि सत्तालाई आफ्नो पकडमा राख्नका लागी मात्र प्रचण्डले मोर्चा गठन गर्न चाहेको हुन भन्ने आरोप पनि लागेको देखिन्छ ।

त्यस बाहेक माओवादीलाई द्धन्द्धकालीन मुद्दा अहिलेसम्म पनि नसुल्झिएकोले त्यसको अभियोग र कार्बाहीबाट जोगिन पनि सत्ता अपरिहार्य भएकोले प्रचण्ड कुनै पनि हालतमा सत्ताबाट अलग हुन चाहदैनन् भन्ने आरोप उनका विपक्षीहरुले बारम्बार लगाउने गर्छन् । त्यसैले समाजवादी मोर्चा जनताका हित हेरेर भन्दा पनि ती मोर्चामा सामेल हुन चाहेका दलहरुको अस्तित्वको सवाल भएकोले गठन हुन लागेको भन्नेतर्क गर्नेहरु पनि भेटिन्छन् ।

तिस दशक भन्दा पनि बढी पार्टी नेतृत्वमा रहेर पटक पटक सत्ताको नेतृत्वमा रहेका प्रचण्डले अन्तिम पटक काम गरेर देखाउनका लागी प्रधानमन्त्री भएको दाबी गरे पनि खिचडी जस्तो सरकार अनि सिट संख्याका आधारमा कमजोर रहेको प्रधानमन्त्रीले कामै गरेर देखाउन सक्ने कुरामा भने विश्वास गरिहाल्न सकिने अवस्था देखिन्न । त्यसैगरी मधेश आन्दोलनले स्थापित भएका उपेन्द्र यादवको चामत्कारिक नेतृत्व पनि विस्तारै पतन हुदै गएको र उनको सर्वस्वीकार्यता मधेशमा समेत कम हुदै गएकोले उनलाई पनि बलियो सत्ताको साथ चाहिएको तथ्य घाम जत्तिकै छर्लगं छ ।भने एकीकृत समाजवादी अर्को पाँच बर्षसम्म रहला कि नरहला भन्ने अवस्था त्यो पार्टीमा गएको निरन्तरको पहिरोले माधव नेपालको चिन्ता बढाएको देखिन्छ।

आफ्ना अस्तित्व रक्षाका कारण नजिक भएका दलहरुको समाजवादी मोर्चा गठनको आसक्ति खासमा उनीहरुकै आवश्यक्ताले निर्धारण गरेको भए पनि त्यो खासमा वामपन्थी विचारको एकीकरणको उद्देश्यबाट प्रेरित भएको देखिन्न । एकातिर नयाँ दलहरुको प्रभावकारी उदय अनि पुराना दलहरुमा देखिएको नैराश्यताले दलहरुलाई अस्तित्व रक्षाको बाटोमा पुर्याए पनि मोर्चा पवित्र उद्देश्यबाट गठन हुन खोजेको हो की होइन भन्ने सवालमा प्रशस्त प्रश्नहरु थाँती राखेको देखिन्छ ।

केपी ओलीका व्यवहारजन्य गतिविधिका कारण वामपन्थी विचार बोकेको ठुलो पार्टी एमालेलाई माओवादी तथा एकीकृत समाजवादीले गरेको पानी नचल्ने व्यवहार खासमा उनीहरुको कुण्ठित मनको उपज मात्र हो भन्न सकिन्छ । एमालेसँग उनीहरुको प्रतिशोध र बदलाभावपूर्ण चिन्तनका कारण पनि समाजवादी मोर्चा खासमा कमजोरहरुले आफु कमजोर नरहेको देखाउन गरेको गठजोड मात्र हो भन्न सकिन्छ । हुनत यतिखेर एमाले नेतृत्व पनि उ बाहेकको वामपन्थी शक्तिलाई धारेहात लगाएर सम्भव भएसम्म खुइल्याउन लागिपरिहरेकोछ । तर पनि पछिल्लो समय सत्ता राजनीतिको अंक गणितले नजिएका उनीहरु प्रचण्डको दुइतिहाइको लालशा भनौ या कुनै अदृष्य शक्तिको आड भरोसाले वामपन्थीहरुको सम्बन्ध संग्लिन पाएन ।

समाजवादी मोर्चा गठनमा यो आशंका एमालेलाई वेवास्ता गरेको भन्ने सन्र्दभमा मात्र होइन त्यो किनभने वाम विचार धारा बोकेका मोहन वैद्य सीपी गजुरेल लगायत बाबुराम भट्टराईको समेत यस प्रक्रियमा उदासिनता देखिएकोछ । अनि सत्ता सहयात्री जनमोर्चाको समेत चासो नदेखिनु भनेको यो मोर्चा कतै धर्मराउने संकेत पाएकाले वा अस्तित्व संकटमा रहेकोले उनीहरुलाई बार्गेािङ पावर बढाउनका लागी मात्र भन्ने प्रश्न रहिरनेछ ।

यस अर्थमा समाजवादी मोर्चा गठन विचारका हिसाबले सही भए पनि त्यसमा संलग्न पात्रहरुको मनोभावका कारण सही होइन की भन्ने आशंका उत्पन्न भएको देखिन्छ । त्यस अर्थमा यो मोर्चा सत्ता गठबन्धन भित्रको मात्र मोर्चा हो की भन्न सकिन्छ ।

यो समाचार सेयर गर्नुहोस्
माधव गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।