
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले गाउँपालिकाको कार्यविधि विपरित भएका कामहरुको भुक्तानी नदिने जनाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै यस्तो बताएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र लेख्दै कार्यविधि विपरित भएका कामहरुको छानविन गर्न तथा कागजात समेत उपलब्ध गराउन आदेश भएकाले गाउँपालिकाबाट त्यस्ता कामको भुक्तानी नहुने जनाएको हो ।
गाउँपालिकाबाट विनियोजन भएका बजेट, योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा प्रचलित ऐन, नियम, निर्देशिका तथा कार्यविधि विपरित भएको देखिन आएमा यस कार्यालयबाट भुक्तानी नहुने र सोको जवाफदेहि स्वयं आदेश दिने पदाधिकारी हुने गाउँपालिकाको सूचनामा उल्लेख छ ।
गाउँपालिकाले विधि मिचेर नियुक्ति तथा डोर हाजिरीमा प्रशासनिक कामकाज लगाइएको, गुणस्तरहिन कार्यलाई गुणस्तरयुक्त भनि सिफारिस गरिएको, पाईप वितरण तथा अन्य खरिद प्रक्रिया नमिलेको लगायतको कामहरुको भुक्तानी नहुने जनाएको छ ।












