२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि

नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि

नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो ।

छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप जेएन वान देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ ।

प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क र स्वास्थ्य कार्यालयहरूमार्फत् स्क्रिनिङ र निगरानी निरन्तर गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जेएन वान भाइरस तत्कालका लागि कम घातक तर तीव्र गतिमा फैलने जनाएको छ । यसको सङ्क्रमण हुँदा ज्वरो आउने, शरीर काम्ने, थकान महसुस हुने, नाकबाट पातलो पानी बग्ने, खोकी लाग्ने, घाँटी तथा टाउको दु:ख्ने र सास फेर्न अप्ठ्यारो हुनेलगायतका लक्षणहरू देखिन सक्ने डाक्टरले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाण्डौ, चितवन, पोखरा, धनगढीलगायतका सहरी क्षेत्रमा सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्टको सङ्क्रमण र यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सकेसम्म भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन र अरुलाई पनि यी मापदण्ड पालना गर्न लगाउन भनिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।