८ कार्तिक
इजरायल – शुक्रबार अर्थात १८ अक्टोबर मा सम्पन्न सातौं वलिहाङ कप – २०२४ फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार फुटबल क्लब इजरायलले जितेको छ । त्यसै गरि मनिपुर गोर्खा फुटबल क्लव उप–विजेता भएको छ । “एकता र मीत्रताको लागि खेलकुद” भन्ने मुल नारा सहित लिम्बु समुदायको मौलिक पर्व वलिहाङ तङनाम (तिहार) को अबसरमा इजरायलको तेलअभिव स्थित किर्यात सलोम तेल मक्कावी फुटबल ग्राउण्डमा प्रतियोगिता सम्पन्न भएको थियो । छैटौं बलिहाङ कपको उप –विजेता राइजिङ स्टार फुटबल क्लबले यस पटकको उपाधि हात पारेको हो ।
यस प्रतियोगितामा कायापलट फुटबल क्लव, सेभेन स्टार हाईफा फुटबल क्लव, दार्जलिङ यूनाईटेड फुटबल क्लव, केवाइसी फुटबल क्लव, राईजिङ स्टार फुटबल क्लव, ब्रोदर्श यूनाईटेड फुटबल क्लव, मनिपुर गोर्खा फुटबल क्लव, मगर संघ फुटबल क्लव, लायोन तेलअभिव फुटबल क्लव, र झापा फुटबल क्लव इजरायल गरी दशवटा फुटबल क्लवको सहभागीता रहेको थियो ।
किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा सम्पन्न प्रतियोगितामा विजेता टिमलाइ नगद ८ हजार सेक्केल अर्थात (नेपाली रु.२ लाख ८५ हजार) सहित शिल्ड, मेडल र प्रमाण – पत्रले सम्मान गरेको थियो । उप– विजेता हुने टिमलाइ ४ हजार सेक्केल अर्थात (नेपाली रु.१ लाख ४५ हजार) सहित शिल्ड, मेडल, र प्रमाण–पत्रले सम्मान गरेको थियो ।
नकआउट सिस्टममा सम्पन्न प्रतियोगितामा सबैभन्दा बढि गोल गर्ने गोलकर्ताको उपाधि राइजिङ स्टार फुटबल क्लवका स्टाईकर सविन पन्थले प्राप्त गरेको थियो । स्टाईकर पन्थले प्रतियोगितामा कुल ६ गोल गरेका थिए । वेष्ट प्लेयरको उपाधि मनीपुर फुटबल क्लवका चन्दन थापा, उत्कृष्ट गोलकिपरमा राइजिङ स्टारका भूपेन क्षेत्री, उत्कृष्ट डिफेन्समा राइजिङ स्टारका रोजन शेर्पाले पाएको छ । उक्त खेलाडीहरुलाइ प्रमाण–पत्र, कप, मेडल र नगदले सम्मान सहित पुरस्कृत गरेको थियो ।
किरात याक्थुङ चुम्लुङ इजरायलले आफ्नो पर्वको अवसरमा सन् २०१६ देखि वलिहाङ कप प्रतियोगिता सुरु गरेको हो । यस वलिहाङ कप प्रतियोगितामा इजरायलमा रहेका विभिन्न फुटबल क्लव र फुटबल प्रेमीहरुको सक्रिय सहभागिता रहेको केवाइसी फुटबल क्लवका प्रशिक्षक आईन्द्र योङया लिम्बुले जानकारी दिनुभयो । यसै गरी केवाइसी फुटबल क्लवले भने यस अघि ५ पटक वलिहाङ कपको उपाधि जितेको थियो ।
सातौं वलिहाङ कप – २०२४ फुटबल प्रतियोगिता किरात याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष नुमा काङ्भा बोखिमको अध्यक्षता र नेपाली दुतावास इजरायलका कार्यवाहाक राजदुत कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष मनु श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न सामाजिक, राजनैतिक संघ– संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै इजरायलमा रहेका खेल प्रेमीहरुको उल्लेख्य सहभागीता रहेको थियो । किरात याक्थुङ चुम्लुङ इजरायलले आफ्नो स्थापनाकालदेखि खेलकुदका साथै विभिन्न सामाजिक तथा रचनात्म कार्यक्रमहरु गर्दै आएको छ ।